सामुदायिक वनले बुझाएको बेवारिसे काठ कर्मचारीको घरमा फेला परेपछि छानविन सुरु

2
फरेस्टर चौधरीको घरबाट बरामद गरिएको काठ । तस्बिर: सामाजिक सञ्जाल

लालबन्दी – सामुदायिक वनले बरामद गरी बुझाएको काठ आफ्नै कर्मचारीको घरमा फेला परेपछि डिभिजन वन कार्यालय सर्लाहीले सोमवारबाट छानविन सुरु गरेको छ ।

गएको जेठ अन्तिम साता तिर राम जानकी सामुदायिक वन लालबन्दीमा तस्करले काटेर छाडेको १० थान सिसौको गोलिया बरामद भएको थियो । उपभोक्ता समूहले बरामद गरेको काठ तत्कालै सव–डिभिजन वन कार्यालय लालबन्दीका फरेस्टर मीनबहादुर चौधरीको जिम्मा जमानीमा बुझाएको थियो ।

सो काठ कार्यालयमा नलगी चौधरीले आफ्नो घरमा लगेर राखेको आइतवार नै पाइएपछि डिभिजन वन कार्यालयले अनुसन्धान अघि बढाएको हो । फरेस्टर चौधरीलाई तत्कालै बिभागिय कारवाहीका लागि सिफारिस गरी घटनाको विस्तृतमा जाँचबुझ गर्न अधिकृत स्तरको छानविन टोली गठन गरिएको सर्लाहीका डिभिजन वन प्रमुख माधव प्रसाद देवले बताए ।