सर्लाहीमा केही दिनदेखि विद्युत् अनियमित, उपभोक्ता हैरान

4
सांकेतिक तस्बीर ।

लालबन्दी – केही दिनदेखि भइरहेको वर्षाले विद्युत् अनियमित हुँदा सर्लाहीवासी हैरान भएका छन् ।

सर्लाही जिल्लाभर नै छिन–छिनमै विद्युत् कटौति भइरहने समस्या देखिएको हो । ग्रामीण क्षेत्रका कतिपय ठाउँहरुमा घण्टौंँसम्म पनि विद्युत् ठप्प हुने गरेको स्थानीय वासिन्दाले बताएका छन् ।

पानी पर्नासाथ जिल्लामा पटक–पटक विद्युत् प्रवाहमा समस्या देखिने गरेको छ । यसरी विद्युत् अनियमित हुँदा बिजुलीबाट मात्रै हुने कामहरु प्रभावित बनेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले भने केन्द्रीय प्रशारण लाइनमा आएको खराबीले गर्दा जिल्लामा विद्युत् अनियमित भएको जनाएको छ । वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले केन्द्रीय प्रशारण लाइनबाट नै एक ठाउँबाट अर्को ठाउँमा लाईन दिने क्रममा लोड तलमाथि हुँदा यस्तो समस्या आएको बताए ।

जिल्लाभित्र कुनै किसिमको फल्ट आएको खण्डमा तुरुन्त मर्मतका लागि प्राधिकरणको लालबन्दी, बरहथवा र मलंगवा वितरण केन्द्रबीच समन्वय गरी प्राविधिकहरु तयारी अवस्थामा राखिएको रायले जानकारी दिए । अहिले विद्युतीय उपकरण चलेर लोड पनि धेरै हुने र पुराना तार, बिजुलका खम्बा तथा सव–स्टेशनमा पानी परेको बेला समस्या आउने गरेको प्राधिकरणका प्राविधिकहरुले बताएका छन् ।