बागमतीमा मेयर थापा विरुद्धको अनसन तोडियो

4
बागमती नगरपालिका कार्यालय परिसरमै आमरण अनसनमा बसेका हरिकृष्ण पौडेल । (फाईल तस्बिर)

बागमती – नगर प्रमुख (मेयर)को सम्पत्ति छानबिन हुनुपर्ने लगायत विभिन्न माग राख्दै बागमती नगरपालिकाको कार्यालय परिसरमा गत बुधबारदेखि आमरण अनसनरत एक परिवारले शुक्रबार साँझ अनसन तोडेको छ ।

गत वर्ष प्रहरी कारवाहीमा मारिएका बागमती नगरपालिका–२, धरहरा निवासी विप्लव समूहका तत्कालिन जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारका तीन जना सदस्यले शुक्रबार साँझ अनसन तोडेका हुन् । शुक्रबार अपरान्ह प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, अनसनरत पक्षबीच भएको लामो छलफल पश्चात अनसन तोडिएको हो ।

नगरपालिकाका मेयरले पूरा गर्न सक्ने माग अबिलम्ब सम्बोधन गर्ने र माथिल्लो निकायबाट पूरा हुनुपर्ने माग सम्बन्धमा आवश्यक कार्बाहीका लागि तत्काल लेखिपठाउने सहमति भएको प्रजिअ पौडेलले जानकारी दिए । ‘अनसनकारीले उठाएका मागहरु मध्ये मेयरसाबले पूरा गर्न सक्ने मुद्धामा अबिलम्ब सम्बोधन गर्ने र केन्द्रीय निकायबाट पूरा हुनुपर्ने मागका सम्बन्धमा आवश्यक कार्बाहीका लागि लेखि पठाउने सहमति भएको छ’, प्रजिअ पौडेलले उज्यालो अभियानसँग भने, ‘सहमति भएपश्चात अनसनमा बस्नु भएका परिवारलाई पानी खुवाएर अनसन तोडाईएको छ भने आवश्यक कार्बाही प्रकृया पनि अबिलम्ब सूरु गरिने छ ।’

अनसनमा बसेका हरिकृष्ण पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धिकरण विभाग लगायतबाट मेयर थापाको सम्पति तथा उनले गरेको अनियमितता विरुद्ध छानविनका लागि जिल्ला प्रशासन कार्यालयबाट तत्काल लेखि पठाउने र स्थानीय स्तरमा नगरपालिका कार्यालयबाटै सम्बोधन हुने मागलाई तत्काल सम्बोधन गर्ने सहमति भएपश्चात आफूहरुले अनसन तोडेको जानकारी दिए ।

‘सिडिओ साहेब स्वयं आएर प्रतिबद्धता जनाएपछि अनसन तोड्ने सहमति गरेका हौं’, उज्यालो अभियानसँग पौडेलले भने, ‘यदि सहमति कार्यान्वयन भएन भने जिल्ला प्रशासन कार्यालयमै गएर आमरण अनसन बस्ने छु ।’

अनसनकारी पौडेलले मापदण्ड विपरित नगरपालिकाले अन्धाधुन्ध खनेको पोखरी, मापदण्ड विपरित बागमती नदी छेउमै सञ्चालन गरिएका क्रसरहरु लगायत बारेमा आज (शनिबार) बाटै छानविन सूरु गर्नुपर्ने, सामाजिक सुरक्षा भत्तामा नगरपालिकाले वृद्धवृद्धा लगायत लक्षीत वर्गलाई दिएको झंझटिलो प्रकृया लगायतमा सुनुवाई हुनुपर्ने आफ्नो प्रमुख माग रहेको बताए ।

विभिन्न ७ बुँदे माग राख्दै बुधबार बिहान १० बजेबाट दिवंगत पौडेलकी आमा दुर्गादेवी पौडेल, पत्नी धनकुमारी खड्का पौडेल र भाई हरिकृष्ण पौडेलले नगरपालिका कार्यालय परिसरमा आमरण अनसन सुरु गरेका थिए । सम्पत्ति शुद्धिकरण आयोगबाट नगर प्रमुख भरतकुमार थापाको सम्पत्ति छानबिन हुनुपर्ने, नगरपालिकामा विकास निर्माणको कामका शिलशिलामा अनियमितता भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन हुनुपर्ने, बागमती नदीको अवैध उत्खनन रोकेर दोषीलाई कारवाही गर्नुपर्ने, बुढी बागमतीमा पोखरी खन्दा निस्किएको गिट्टी बालुवा बिक्रीबाट भएको आम्दानीको हरहिसाव पारदर्शी गर्नुपर्ने लगायत पौडेल परिवारको ७ बुँदे माग रहेको छ । मागका सम्वन्धमा मौखिक र लिखित रुपमा पटक–पटक जानकारी गराउँदा पनि सुनुवाई नभएपछि बुधबारबाट बाध्य भएर आमरण अनसनमा बस्नु परेको दिवंगत पौडेलका भाई हरिकृष्ण पौडेलले जानकारी दिए ।

यता बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले आफू विरुद्ध सम्पति शुद्धिकरण, अख्तियार लगायतमा छानविन गराउन र दोषि देखिए कार्बाहीको भागिदार हुन तयार रहेको बताएका छन् । त्यस्तै नगरपालिका स्तरमा पूरा हुने मागका सम्बोधन गर्न जतिखेर पनि आफू तयार रहेको मेयर थापाको दाबी छ ।

यो पनि पढनोस्

मेयर थापा विरुद्ध बागमतीमा आमरण अनसन