प्रदेश सांसद् लुंगेलीले गरिन् सुत्केरीको उद्धार

8
पैसा तिर्न नसकेर अस्पतालमै बन्धक सुत्केरी महिलालाई शुल्क बापतको रकम बुझाउँदै प्रदेश सांसद् लुंगेली, लालबन्दीका वडाध्यक्ष राजन श्रेष्ठ लगायत महिला अधिकारकर्मी । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – जनकपुरधाम स्थित चन्द्रकला अस्पताल एण्ड रिसर्च सेन्टरमा प्रसुती शुल्क बुझाउन नसक्दा डिस्चार्ज भएर पनि चार दिन देखि सर्लाही स्थित घर आउन नपाएकी सुत्केरी आमा र शिशुलाई प्रदेश सांसद् र उनका सहयोगीले उद्धार गरेका छन् ।

लालबन्दी नगरपालिका–५ की कुसुम पासवनाको शल्यक्रिया गरी छोराको जन्म भएको र अस्पतालाई बुझाउनु पर्ने ३५ हजार शुल्क अभावमा उनि ४ दिन देखि अस्प्तालमै घेरिएकी थिईन् । भदौ १६ गते अस्पताल भर्ना भएकी कुसुम २२ गते डिस्चार्ज भएकी थिइन् । तर, अस्पतालको शुल्क बुझाउन नसक्दा अस्पताल प्रशासनले उनलाई नर्मल वार्डमा राखेर घर जानबाट रोकेको थियो ।

कुसुमकी श्रीमान रबिन्द्रले आफन्त र गाउँमा अस्पताललाई तिर्नु पर्ने पैसा खोजेपनि व्यवस्थापन गर्न सकेका थिएनन् । लकडाउनको कारण देखाएर ऋण नपाउदा अस्पतालमा ४ दिन देखि घेरीएको रबिन्द्रले बताए ।

नवजात शिशु र आमा अस्पतालमा घेरीएको जानकारी पाएपछि सर्लाहीबाट निर्वाचित प्रदेश सांसद बेची लुंगेली नेतृत्वको समूहले महिला सञ्जालको सहयोगमा पैसा संकलन गरी सुत्केरी महिलालाई शुक्रबार उद्धार गरेको हो । शुक्रबार बिहान चिया खान भेला भएका साथिहरुबाट ३३ हजार नगद संकलन गरी अस्पताल र औषधीको पैसा भुक्तानि गरेर सुत्केरी महिलाको उद्धार गरेको प्रदेश सांसद लुंगेलीले बताइन् ।

गरिबिका कारण अस्पतालमा बन्धक बनेको जानकारी वडा कार्यालय र नगरपालिकालाई जानकारी गराएपनि कुनै व्यवस्था हुन नसक्दा लालबन्दीका युवा, महिला र अधिकारकर्मीको प्रयासमा अस्पतालको शुल्क बुझाएर आमा र शिशुको स्यहारकालागि समेत आर्थिक सहयोग गरीएको सांसद लुंगेलीले बताईन् । चन्दा संकलन गरेर अस्पतालको शुल्क बुझाउन आउँदा अस्पताले ३५ हजार शुल्क मध्ये १५ हजार छुट गरेको महिला अधिकारकर्मी शारदा वान्तावाले बताइन् ।