झडपपछि सुरक्षा सतर्कता बढाइयो

मलंगवा – सर्लाहीको कौडेना गाउँपालिका–५, छपकैंया टोलमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

शव दाह संस्कार गर्ने स्थलका विषयमा विवाद भई विहिबार मुस्लिम र हिन्दु धर्मावलम्बीबीच सो स्थानमा दोहोरो झडप भएको थियो । झडपमा दुई प्रहरीसहित आठ जना घाईते भएका थिए । शुक्रबार बिहान पुनः झडपको स्थिति सिर्जना भएपछि घटनास्थलमा बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको हो । स्थानीय प्रहरी युनिटका प्रहरीसँगै जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा र थप मद्धतका लागि सशस्त्र प्रहरीको खुटौनास्थित बोर्डर आउट पोष्टबाट पनि सशस्त्र प्रशरी निरीक्षक (इन्सपेक्टर) कै कमाण्डमा सुरक्षाकर्मी परिचालन गरी सतर्कता अपनाइएको हो ।

विहिबारको झडप पछि जिल्ला प्रशासन कार्यालय मलंगवामा दुवै पक्षका प्रतिनिधिलाई राखी छलफल गरेर शव दाह संस्कार गर्दै आएको जग्गाको तत्कालै नाप जाँच गर्नेे र त्यसपछि पुनः दुवै पक्ष बसेर थप निर्णय गर्ने सहमति भएको थियो । तर प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको रोहबरमा सो सहमति भएको २४ घण्टा बित्न नपाउँदै शुक्रबार बिहान पुनः झडपको स्थिति सिर्जना भएको हो । गाउँ स्तरमा पनि विवाद मिलाउन अहिले वडाका जनप्रतिनिधि र दुवै पक्षका अगुवा लागि परेका छन् ।

छपकैंया गाउँमा रहेको १० का जति ऐलानी जग्गामा स्थानीय मुस्लिम र हिन्दु धर्मावलम्वीले मृत्युवरण गरेका व्यक्तिहरुको दाह संस्कार गर्दै आएका छन् । दुई दिनअघि अज्ञात व्यक्तिले मुस्लिमहरुले दाह संस्कार गर्ने कब्रस्थानमा लगेर मरेको बोका गाडेपछि विवाद झनै बढेको हो ।