सर्लाहीमा आज ४१ जना काेराेना संक्रमित थपिए, १९ सय ११ पुगे

3

मलंगवा – सर्लाहीका दुईवटा पालिकामा आज (विहिबार) कोरोना भाईरसका ४१ जना नयाँ संक्रमित थपिएका छन् । भारतसँग सीमा जोडिएको गोडैता नगरपालिकामा २७ जना र सदरमुकाम मलंगवा नगरपालिकामा १४ जना गरी ४१ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । आज थपिएका समेत गरी जिल्लाभर कोेरोना संक्रमितको संख्या एक हजार नौ सय ११ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, सर्लाहीका कोभिड–१९ फोकल पर्सन सुशील कुमार झाले जानकारी दिए ।
आजै जिल्लामा ५३ जना संक्रमित निकाे भएका छन् । पछिल्लो समय संक्रमितहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार १४ दिन आइसोलेसनमा बसेपछि दोस्रो पटक परीक्षण नगरी डिस्चार्ज गरिँदै आएको कोभिड–१९ फोकल पर्सन झाले बताएका छन् ।
सर्लाहीमा कुल कोरोना संक्रमितमध्ये अहिलेसम्म एक हजार ९० जना डिस्चार्ज भइसकेका स्वास्थ्य कार्यालयले जनाएको छ । आठ सय ६५ जना जिल्ला स्थित पालिका तथा बाहिरका स्वास्थ्य केन्द्रको आइसोलेसन र होम आइसोलेसनमा रहेका छन् ।
जिल्लामा अहिले कोही पनि क्वारेन्टिनमा छैनन् । संक्रमित थपिँदै गइरहेको भएपनि जिल्लामा निषेधाज्ञा हटाएर जनजीवन सामान्य पार्दै लगिएको छ । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म सर्लाहीमा चार जनाको मृत्यु भएको छ ।