मेयर थापा विरुद्ध बागमतीमा आमरण अनसन

11
बागमती नगरपालिका कार्यालय परिसरमै आमरण अनसनमा बसेका हरिकृष्ण पौडेल । (फाईल तस्बिर)

बागमती – नगर प्रमुख (मेयर)को सम्पत्ति छानबिन हुनुपर्ने लगायत विभिन्न माग राख्दै बागमती नगरपालिकाको कार्यालयमा हिजो (बुधबार)बाट एक परिवार आमरण अनसनमा बसेको छ ।

गत वर्ष प्रहरी कारवाहीमा मारिएका बागमती नगरपालिका–२, धरहरा निवासी विप्लव समूहका तत्कालिन जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारका तीन जना सदस्यले विभिन्न ७ बुँदे माग राख्दै नगरपालिका कार्यालयमा आमरण अनसन सुरु गरेका हुन् । बुधबार बिहान १० बजेबाट दिवंगत पौडेलकी आमा दुर्गादेवी पौडेल, पत्नी धनकुमारी खड्का पौडेल र भाई हरिकृष्ण पौडेल नगरपालिका कार्यालयको प्राङ्गणमै अनसनमा बसेका हुन् ।

सम्पत्ति शुद्धिकरण आयोगबाट नगर प्रमुख भरतकुमार थापाको सम्पत्ति छानबिन हुनुपर्ने, नगरपालिकामा विकास निर्माणको कामका शिलशिलामा अनियमितता भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन हुनुपर्ने, बागमती नदीको अवैध उत्खनन रोकेर दोषीलाई कारवाही गर्नुपर्ने, बुढी बागमतीमा पोखरी खन्दा निस्किएको गिट्टी बालुवा बिक्रीबाट भएको आम्दानीको हरहिसाव पारदर्शी गर्नुपर्ने लगायत पौडेल परिवारको ७ बुँदे माग रहेको छ । मागका सम्वन्धमा मौखिक र लिखित रुपमा पटक–पटक जानकारी गराउँदा पनि सुनुवाई नभएपछि बुधबारबाट बाध्य भएर आमरण अनसनमा बस्नु परेको दिवंगत पौडेलका भाई हरिकृष्ण पौडेलले जानकारी दिए ।

यता नगरपालिका कार्यालयले भने सूचनाको हक सम्बन्धी ऐन अनुसार लिखित रुपमा माग भए नगरपालिकाबाट भए गरेका सम्पूर्ण काम कार्बाहीका बारेमा सूचना दिन सकिने जनाएको छ ।