जितिया पर्व घरमै मनाउँदै मैथिल र थारु समुदायका महिला

20

लालबन्दी – मैथिल तथा थारु समुदायका महिलाको महान व्रत जितिया बुधबारबाट सुरु भएको छ । तीन दिनसम्म मनाउने जितिया व्रतको बिहिवार (आज) मुख्य दिन हो । समुहमा धुमधामका मनाउने जितिया यसवर्ष कोरोनाका कारण त्यो रौनक भने देख्न पाइएको छैन । महिलाहरु घर–घरमै बसेर जितिया पर्व मनँइरहेका छन् ।

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथीमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । पहिलो अर्थात सप्तमीका दिन नुहाएर खाने जसलाई नहाय खाय भनिन्छ । यस दिनमा तेलखरी, पितराइन र ओठङन गर्ने चलन छ । पहिलो दिन नै कोदोको रोटी र माछा पनि खाने प्रचलन छ । दोश्रो अर्थात अष्टमीका दिन दिनभरी ब्रतालुहरु उपवास बस्ने गर्छन् । यसदिन बिहानै नुहाई बेलको पात टिपेर दिनभर निराहार बसी बेलुकी चिल र स्यालको कथा श्रवण गर्ने गरेका छन् । यो पर्वको अन्तिम दिन अर्थात नवमीको दिनलाई पारन भनिन्छ । यसदिन ब्रतालुहरु चिल, स्याल र दिवंगत महिलालाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गर्ने गरिन्छ ।

विगतमा महिलाहरु समुहमा विभिन्न लोकगीत गाउँदै तामझामका साथ मनाउँदै आएपनि यसवर्ष भने कोरोना माहामारीका कारण त्यो रौनक देखिएको छैन । स्थानीय नदी तथा खोलामा गएर महिलाहरु ब्रत सुर गर्ने तथा समापन गर्ने गरिएपनि यस वर्ष महिलाहरु घरमै बसेर पर्व मनाउँदै छन् । ‘अरु वर्ष स्थानीय नदीमा गएर पर्वको सुरुवात तथा समापन गर्ने गरिएको थियो, तर यस वर्ष कोरोनाको कहरले यो सम्भव भएन’, कविलासीकी संगिता देवीले भनिन्, ‘यस वर्ष घरमै सिमित भएकाले यो पर्वको रौनक देखिएको छैन, तर निष्ठा पुर्वक व्रत भने महिलाहरु बसिरहेका छन् ।’

यो व्रत सुरु भएसंगै थुक पनि निल्न नहुने मान्यता छ । ३६ घण्टा सम्म निराहार बस्नु पर्ने भएकाले पनि यो व्रत कठोर मानिन्छ । यो व्रतलाई खण्डित पनि गर्न नहुने मान्यता छ । श्रीमान र सन्तानको दिर्घायुको कामनाका लागि महिलाहरु जितिया कठोर ब्रत बस्दै आएको पौराणिक मान्यता छ । यो ब्रत श्रीमान र सन्तानको दिर्घायुको लागि आफु पनि बसेको स्थानीय रेणु देवीले बताइन् । ‘यो व्रत बस्दा श्रीमान र सन्तानको दिर्घायु हुने मान्यता छ, जसका लागि यो व्रत म पनि बसेकी छु,’ उनले भनिन्, ‘यो पर्व मार्फत दिवंगत आमा बुवालाई पनि सम्झिने चलन छ ।’

जितियामा निराहार बस्ने मुख्य दिन आइतवार अथवा मंगलवार परे यसको महत्व धेरै हुन्छ । त्यस बेलाको पर्वलाई खर जितिया भन्ने गरिन्छ । यो व्रत बसे जुनसुकै घटना, दुर्घटनाबाट परिवारलाई जोगाउने मान्यता रहँदै आएको छ ।

जितिया पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री लगायतले शुभकामना दिएका छन् । उनीहरुले कोरोना माहामारी रहेकाले यो वर्ष घरमै सावधानीपुर्वक पर्व मनाउन आग्रह गरेका छन् ।