क्यान्सरपीडित पत्नीको उपचारमा आर्थिक सहयोगको याचना गर्दै भिम गोले

10
कुमारी राई
भिम गोले

हरिवन – क्यान्सर रोगबाट पीडित ४१ वर्षीया कुमारी राईको उपचारका लागि यथाशक्य आर्थिक सहयोग गर्न राईका श्रीमान भिम गोलेले आग्रह गरेका छन् ।

‘मेरी श्रीमतिको अहिले भरतपुर स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भईरहेको छ, पित्त थैली र पाठेघरको अप्रेशन भईसकेको छ, डाक्टरहरुले अब केमो थेरापी लगायत उपचार गर्ने भनेका छन्’, सोमबार उज्यालो अभियानको कार्यालयमा आईपुगेका गोलेले सहयोगको याचना गर्दै भने, ‘असारदेखि अहिलेसम्म ४ लाख रुपैया भन्दा बढी खर्च भईसक्यो, घरमा भएका भैंसी, गाई गोरु, खसी बाख्रा लगायत बस्तुभाउ बेचिँसके, धेरै जनासँग ऋण सापट पनि गरिसकेँ अब त सापट लिने ठाउँ पनि छैन ।’

ईन्दुशंकर चिनी उद्योगमा सुरक्षा गार्डको रुपमा कार्यरत गोलेका अनुसार उनको बागमती नगरपालिका–२, धरहरामा दुई कठ्ठा जमिनमा सानो घर मात्र रहेको छ । अन्य जग्गा जमिन र सम्पति नभएकाले अब श्रीमतिको उपचारमा लाग्ने खर्च कहाँबाट जुटाउनु भन्ने पिरलो आईपरेको गोलेको भनाई थियो । ‘आफूसँग भएको र ऋणधन गरेर अहिलेसम्म खर्च गरिरहेको छु, अब लाग्ने खर्च कहाँबाट जुटाउनु भन्ने पिरलो थपिएको छ’, उनले भने, ‘देश विदेशमा रहनुहुने मनकारी महानुभावहरुले यथाशक्य आर्थिक सहयोग गरे, श्रीमतिलाई बचाउन सक्थेँ की ।’

गोले दम्पतिका दुई छोरी र दुई छोरा छन् । जेठी छोरी ममता गोले काठमाडौंमा सामान्य रोजगारी गर्ने र माईली छोरी दिदीसँगै बसेर कक्षा ११ मा पढिरहेको गोलेले बताए । दुई छोरा भने घरमै बसेर हाल कक्षा ५ र २ मा पढिरहेका छन् । उपचारमा छुट गराउनका लागि बागमती नगरपालिका कार्यालयबाट पनि सिफारिस लिईसकेको उल्लेख गर्दै गोलेले अन्य महानुभाव एवं संघ संस्थाहरुलाई यथाशक्य आर्थिक सहयोग गरी पत्नी कुमारीको जीवन बचाईदिन आग्रह गरेका छन् ।