कोभिडका पहरेदार भन्दै विद्यार्थीद्वारा सम्मान

6
हरिवन नगरपालिकाका मेयर गणशे प्रसाईं उपमेयर रेणुका पौडेल लगायतलाई सम्मान गर्दै नेकपा नेता चूडामणि वाग्ले । (तस्बिर : उज्यालो अभियान)

हरिवन – कोरोना भाईरस (कोभिड–१९) को महामारीमा पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार जस्ता विभिन्न क्षेत्रका व्यक्तीलाई सर्लाहीका विद्यार्थीले सम्मान गरेका छन ।

चतुभूजेश्वर जनता बहुमुखी क्याम्पस स्ववियु सभापति समेत रहेका विद्यार्थी नेता प्रज्वल ढुंगानाको नेतृत्वमा रहेको समुहले हरिवन नगरपालिकाका विभिन्न स्थानमा पुगेर सम्मान गरेको हो । सामाजिक व्यक्तीत्वको रुपमा समेत परिचित नेपाल कम्युनिष्ट पार्टीका नेता चूडामणि वाग्लेले खादा र मायाको चिनो प्रदान गरेर सम्मान प्रदान गरेका थिए ।

नगरका स्वास्थ्य चौकी, अस्पताल, जनप्रतिनिधि, सुरक्षा निकाय र कोभिड संक्रमितलाई खाना पकाएर तथा अन्य तरिकाले सेवा गर्ने स्वयंसेवकलाई सम्मानपूर्वक धन्यवाद प्रदान गरेको विद्यार्थी नेता ढुंगानाले जानकारी दिए । कतिपय स्थानमा स्वास्थ्यकर्मी जस्ता कोभिड विरुद्ध पहिलो पंक्तिमा वसेर काम गर्ने विरुद्ध दुव्र्यवहार समेत भएको पाईएपछि आफुहरुले सम्मान कार्यक्रम गरेर थोरै भए पनि सकारात्मक सन्देश दिन खोजेको विद्यार्थीहरुको भनाई छ । सम्मान कार्यक्रमको अगुवाई गरेका नेता वाग्लेले यस्ता प्रोत्साहनका काम धेरैतिरवाट भएका अझ राम्रो सन्देश जाने वताउनुभयो ।

सम्मान कार्यक्रमले काम गर्दा नयाँ जागर पलाएको सम्मानीत व्यक्तीहरुले अनुभव व्यक्त गरेका छन । सम्मानीत व्यक्तीत्वहरुले पनि भिडियो सन्देश मार्फत यस्ता सम्मानले आफुहरुलाई नया उर्जा उत्पन्न भएको वताएका छन । विद्यार्थीहरुले गाउँ गाउँमा रहेका कार्यथलोमा नै गएर कार्यालय प्रमुख देखि परिचरसम्मलाई सम्मान गरेका जनाईएको छ ।

सर्लाहीको राजमार्गमा वसेर हजारौलाई निशुल्क भोजन गराउने सर्लाही जीवन अस्पतालका दम्पती अर्जुन मैनाली एवं अमृता उप्रेती, नगर स्वास्थ्य चौकीका डाक्टर स्मृति गौतम, हरिवन अस्पतालका डाक्टर इन्द्रजीत महतो, स्वाभिमान अस्पताल संचालक गौरी महतो, नमुना अस्पताल, सुरक्षा निकाय, क्वारेन्टाइनको भान्सा संचालक विजय राई, पत्रकार, नगरप्रहरी आदि गरी करिव एक सय जनालाई सम्मान गरिएको विद्यार्थी नेता सन्दिप थापाले जानकारी दिए ।

कोभिडवाट नगरवासीलाई बचाउन राम्रो भूमिका खेलेको भन्दै नगर प्रमुख गणेश प्रसाई, उपप्रमुख रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडाललाई पनि विद्यार्थीले सम्मान गरेका छन । मेयर प्रसाईले कार्यक्षेत्रमा नै पुगेर कोभिड विरुद्ध पहिलो पंक्तिमा कार्यरतहरुलाई सम्मान गरेकोमा धन्यवाद प्रदान गरेका छन् ।

यस्तैखाले सम्मान कार्यक्रम सदरमुकाम मलंगवा र लालबन्दीका विद्यार्थी समुहले पनि गरेको जानकारी प्राप्त भएको छ ।