वडाध्यक्षको नेतृत्वमा किसानले लगाए गाउँपालिकामा ताला

2

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालयमा सुक्रवार किसानहरुले तालाबन्दी गरेका छन् ।

गाउँपालिकाको मातहतमा रहेको नाढीमन तालको पानी नछाड्दा धान बाली सुक्न थालेको किसानले बताएका छन् । यसबारेमा गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई कयौँ पटक भन्दा पनि सुनुवाई नगरेपछि बाध्य भएर गाउँपालिकामा आएर ताला लगाएको किसानहरुले बताएका छन् ।

किसानहरुसँगै ताला लगाउन वडा नं. ६ का वडाध्यक्ष रामचन्द्र कापर पनि गाउँपालिका आएका थिए । किसानको समस्या गाउँपालिका अध्यक्ष र कार्यालय प्रमुखले नसुनेपछि ध्यानाकर्षण गराउन बाध्य भएर आफू पनि तालाबन्दी गर्न आइपुगेको वडाध्यक्ष कापरको भनाई छ ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले नाढीमन तालको पानी खोल्न ठेकेदारसँग पनि समन्वय गर्नुपर्ने बताए । सो तालमा माछापालनका लागि गाउँपालिकाले ५ करोडमा ठेक्का लगाएको छ ।

ठेकेदारले माछाका लागि औषधि हालेको र एक/दुई दिनमा पानी छाड्ने बताएका गाउँपालिका अध्यक्ष महतोको भनाई छ । उहाँले ठेकेदार र किसान दुवैको समस्या बुझ्नु पर्ने बाध्यता रहेको बताए ।