मलंगवाको पोलिक्लिनिकमा अप्रेशन गरिएकी सुत्केरीको मृत्यु, सम्बन्धित निकाय मौन

6
अमत्र्य पोलिक्लिनिकमा शल्यक्रिया मार्फत सुत्केरी गराईएपछि मृत्यु भएकी सबिता भन्ने सहती देवी । (तस्बिर : उज्यालो अभियान)
सबिताले जन्माएकी छोरा खेलाउँदै आफन्त । (तस्बिर : उज्यालो अभियान)

टंकबहादुर क्षेत्री/मलंगवा – सर्लाही सदरमुकाम मलंगवा स्थित एक पोलिक्लिनिकले शल्यक्रिया गर्दा सुत्केरी महिलाको मृत्यु भएको छ । गत शुक्रबार शल्यक्रिया गरिएकी ती महिलाको मंगलबार मृत्यु भएपनि आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र भनसुन गर्ने कोही नहुँदा घटनाबारे ढिला जानकारी भएको हो । पीडित परिवारले मृतकको मंगलबार दिउँसो नै दाहसंस्कार समेत गरिसकेका छन् ।

राज्यको ऐन कानून अनुसार शल्यक्रिया गर्नका लागि अनुमति नै नपाएको मलंगवा नगरपालिका–९ स्थित अमर्त्य पोलिक्लिनिक एण्ड माटरनिटि सेन्टरमा शल्यक्रिया गरिएकी मलंगवा नगरपालिका–१० निवासी २४ वर्षीया सविता भन्ने सहती कुमारीको मंगलबार मृत्यु भएको हो । उक्त पोलिक्लिनिकले मृत्यु भईसकेकी सबितालाई थप उपचारको लागि भन्दै जनकपुर रेफर समेत गरेको पीडित परिवारको भनाई छ । बच्चाको स्वास्थ्य अवस्था भने अहिले पनि सामान्य रहेको छ ।

मृतकका श्रीमान प्रमोद साहकी दिदी दुलारी देवी भने शल्यक्रिया गरेकै पोलिक्लिनिकमा सबिताको मृत्यु भएको दाबी गर्छिन् । पोलिक्लिनिकले झुक्याएर रेफर गरेपछि बाटैमा मृत्यु भएको बनाएको उनको भनाई छ ।

उक्त पोलिक्लिनिकका सञ्चालक एवं स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सुरेन्द यादवले शल्यक्रिया पश्चात रगत अभावका कारण बिरामीको स्वास्थ्य अवस्था गम्भिर बनेपछि मंगलबार बिहान आफूले जनकपुर रेफर गरेको र उपचारका लागि लैजाँदै गर्दा बिरामीको मृत्यु भएको दाबी गरेका छन् । पोलिक्लिनिकमै शल्यक्रिया गरेको प्रति भने आफ्नो गल्ती भएको डा. यादवले स्वीकारेका छन् । सम्बन्धित सरकारी निकायकाे माैनताका कारण मलंगवा लगायत दक्षिणी क्षेत्रका बजारहरुमा पाेलिक्लिनिक र क्लिनिकमै प्रसुती लगायत गम्भिर शल्यक्रिया हुने गरेकाे स्थानीयले गुनासाे गरेका छन् ।

यसबारे जिल्ला स्वास्थ्य कार्यालय, मलंगवा नगरपालिका लगायत नियमन निकायले जिम्मेवारीबाट पन्छिने बाहेक अन्य कुनै प्रकृया अगाडी बढाएका छैनन् । त्यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि घटनाबारे थाहा नै नभएको र पीडित परिवारको उजुरी आए कारबाही प्रकृया अगाडी बढाउने प्रतिक्रिया दिए ।