सर्लाहीमा आज थपिए ९९ जना कोरोना संक्रमित

3

मलंगवा – सर्लाहीमा आज (सोमबार) ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका कोभिड फोकल पर्सन सुशील झाका अनुसार ९९ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । त्यसमध्ये ९६ जनाको ठेगाना खुलिसकेको र ३ जनाको ठेगाना खुलाउने प्रयास भईरहेको झाले जानकारी दिए ।

दक्षिणी ब्रम्हपुरी गाउँपालिकामा मात्रै ८० जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । ३३८ जनाको स्वाब परीक्षणका लागि काठमाडौंको टेकु पठाईएकोमा ३३३ जनाको रिपोर्ट आउँदा ८० जनामा कोरोना भाईरस पोजेटिभ देखिएको ब्रम्हपुरी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उपेन्द्र राउतले जानकारी दिए । उनले गाउँपालिका भित्र सर्वसाधारणले लकडाउन उल्लंघन गर्दै स्वास्थ्य सुरक्षा नअपनाउँदा कोरोना भाईरस संक्रमणको जोखिम बढेको गुनासो गरे ।

त्यस्तै धनकौल गाउँपालिकाका थप ७ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । २८३ जनाको स्वाब परीक्षणका लागि पठाईएकामा २२४ जनाको रिपोर्ट आएको र हिजो (शनिबार) १४ तथा आज (आईतबार) थप ७ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको धनकौल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण महतोले जानकारी दिए ।

त्यस्तै गोडैता नगरपालिकामा ५ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ । २४० जनाको स्वाब परीक्षणका लागि पठाईएकामा १५८ जनाको रिपोर्ट आउँदा ५ जनालाई पोजेटिभ देखिएको गोडैता नगरपालिका स्वास्थ्य शाखाका प्रमोद पण्डितले जानकारी दिए ।

त्यसैगरी रामनगर गाउँपालिकाका थप ४ जनामा आज (आईतबार) कोरोना भाईरस पोजेटिभ देखिएको हो । केही दिनअघि पठाईएको २०८ जनाको स्वाब मध्ये १७२ जनाको रिपोर्ट आउँदा आज ४ तथा हिजो (शनिबार) १ जनामा पोजेटिभ देखिएको रामनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष यादवले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सर्लाहीमा १०३ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको बताएपनि यो ९९ जना भने आज (आईतबार) मात्र थप भएको संख्या हो ।