सर्लाहीमा चौथो पटक आज फेरि थपियो निषेधाज्ञा

11

मलंगवा – सर्लाहीमा फेरि एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्लाका पालिका प्रमुख, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि, स्वास्थ्यकर्मी लगायतसँग संयुक्त छलफलपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भोली (सोमबार) बाट भदौ २१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

अत्यावश्यक बाहेक सरकारी तथा गैर सरकारी कार्यालयहरु खोल्न पाईने छैन भने निजी तथा सार्वजनिक भाडाका सवारी साधन चलाउन पाईने छैन । दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसल बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र खोल्न पाईने आदेशमा उल्लेख छ । बैंक तथा वितिय संस्थाहरुले भरसक भर्चुअल वा पूर्व नि्र्धारित टोकन प्रणाली वा विद्युतीय प्रणालीबाट सेवा प्रदान गर्ने र त्यस्तो सम्भव नभएमा राष्ट्र बैंकले तोके अनुसार सिमित कर्मचारी राखेर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कार्यालय संचालन गर्न आदेश दिईएको छ । दैनिक उपभोग्य बस्तु विक्री गर्ने पसल तथा बैंक एवं वितिय संस्थाहरुले हात धुने साबुन पानी वा सेनिटाईजर, भौतिक दुरी, अनिवार्य मास्क जस्ता स्वास्थ्य सुरक्षाका विधिहरु अपनाएर मात्र सेवा प्रदान गर्नुपर्ने र अनुगमनका क्रममा त्यस्तो नपाईए कडा कार्बाही गरिने छ । त्यस्तै दैनिक उपभोग्य र अत्यावश्यक सामान बाहेक हाटबजार, होटल लगायतका व्यवसाय पूर्ण रुपमा बन्द गर्नुपर्ने छ ।

समुदाय स्तरमा कोरोनाको संक्रमण पाइएपछि सर्लाहीमा यो सहित सात–सात दिनको चार पटक निषेधाज्ञा आदेश जारी भइसकेको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको सिफारिस अनुसार संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । कोरोना भाईरस संक्रमण बढ्दो रहेकाले सरोकारवाला सबै पक्ष, तह र तप्काले कडाईका साथ आदेशको पालना गर्न/गराउन आग्रह गर्दै आदेश उल्लंघन गर्नेमाथि कानून बमोजिम काबाही हुने प्रजिअ पौडेल बताउँछन् ।