अध्यक्ष पन्तले लिए वीर अस्पतालमा उपचाररत सपनाको सम्पूर्ण औषधोपचार खर्चको जिम्मा

4
बिरामी सपनाका श्रीमान समिर वाईबालाई हनुमान फर्माबाट निःशुल्क औषधी उपलब्ध हुने कार्ड प्रदान गर्दै नेकपा अध्यक्ष पन्त । (तस्बिर सौजन्य : केदार मैनालीको फेसबुक)

हरिवन – वीर अस्पताल काठमाडौंमा उपचार गराईरहेकी सपना मोक्तानको औषधोपचारको सम्पूर्ण खर्च नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तले व्यहोर्ने भएका छन् ।

सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका घर तथा सर्लाही हरिवन नगरपालिका–१० बजारटोल माइती भएकी सपनाको हाल वीर अस्पतालमा उपचार भईरहेको छ । मस्तिष्कमा पानी जमेपछि शल्यक्रिया गरिएपनि स्वास्थ्य अवस्था हाल थप गम्भिर भई वीर उपचाररत सपनाको सम्पूर्ण औषधोपचार नेकपा अध्यक्ष पन्तले व्यहोर्ने भएका हुन् ।

शनिबार अस्पतालमै पुगेर अध्यक्ष पन्तले सपनाका श्रीमान समीर वाइबालाई औषधोपचारमा कुनै चिन्ता नगर्न आश्वासन सहित नगद ५ हजार रुपैंया समेत दिएका थिए । ‘बीरामीका श्रीमानलाई वीर अस्पताल परिसरमै रहेको हनुमान फर्माको कार्ड हस्तान्तरण गरेको छु, चिकित्सकले औषधी माग गरेको कागज सहित उक्त कार्ड लिएर सो फर्मामा गएपछि आवश्यक सम्पूर्ण औषधी निःशुल्क पाउने व्यवस्था गरिदिएको छु’, अध्यक्ष पन्तले भने, ‘त्यस्तै बिरामीको कुरुवा बस्दै आएका श्रीमानलाई पनि ५०० रुपैंयाका दरले दैनिक खर्च स्वरुप पाँचहजार रुपैंया पनि दिईसकेको छु, १० दिनपछि पुनः दैनिक खर्चको रकम उपलब्ध गराउने छु ।’ अध्यक्ष पन्तका अनुसार २४सैं घण्टा खुल्ने उक्त फर्मामा औषधी दिने कर्मचारीहरु परिवर्तन भईरहने हुनाले जो कर्मचारीले पनि निःशुल्क औषधी उपलब्ध गराउनका लागि स्थायी ढंगको कार्ड नै प्रदान गरिएको हो ।

अस्पताल व्यवस्थापनलाई पनि उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै डिस्चार्ज गर्ने समयमा लाग्ने सम्पूर्ण खर्च तिरिदिने वा बीचमा आवश्यक परे पनि दिन तयार रहेको प्रतिबद्धता समेत आफूले जनाएको अध्यक्ष पन्तले जानकारी दिए । आर्थिक अभावले सपनाको औषधोपचारमा समस्या भईरहेको बीरामीका माईतीगाउँका गाउँले तथा जिल्लाका साथिहरुले खबर गरेपछि पार्टी जिल्ला कमिटीले औषधोपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोरेको अध्यक्ष पन्तले जानकारी दिए ।

यसैबीच शनिबार दिउसो नै हरिवन नगरपालिका भित्र संकलन गरिएको आर्थिक सहयोग सपनाका बुबाआमालाई हस्तान्तरण गरिएको छ । प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती, हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं, नेकपाका नेता सुरेन्द्र लामा लगायतको सकृयतामा एकलाख ११ हजार रुपैंया नगद संकलन गरी सपनाका बुबाआमालाई हस्तान्तरण गरिएको हो । हरिवन नगरपालिकाका मेयर प्रसाईंले समेत नगरपालिकाको तर्फबाट निर्णय गराएर ५० हजार रुपैंया थप सहयोग गर्ने घोषणा गरेका छन् ।