नेकपा सर्लाही इन्चार्ज वाग्ले कोरोनामुक्त

4
डाचाराज वाग्ले

हरिवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका इन्चार्ज डाचाराज वाग्ले कोरोना भाईरस संक्रमण मुक्त भएका छन् ।

बाग्मती नगरपालिकाले थ्रोट स्वाब संकलन गर्दा स्वाब दिएका वाग्लेको भदौ ४ गते पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनी महोत्तरीको बर्दिबासमा होम आइसालेसनमै बसेका थिए ।
सोही क्रममा ९ गते स्वासप्रश्वासमा समस्या देखिएपछि वाग्ले उपचारका लागि धुलिखेल अस्पताल भर्ना भएका थिए । त्यहीँ उपचारकै क्रममा दोस्रो पटक स्वाब दिएका नेकपाका केन्द्रीय सदस्य समेत रहेका वाग्लेको विहिबार नेगेटिभ रिपोर्ट आएको हो । आफ्नो स्वास्थ्य अवस्था अहिले सामान्य रहेको वाग्लेले बताएका छन् ।

त्यस्तै लालबन्दी नगरपालिका–१०, का वडाध्यक्ष टोपबहादुर श्रेष्ठ पनि १४ दिनमा कोरोना संक्रमणमुक्त भई शुक्रबार घर फर्किएका छन् । साउन ३० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनी नगरपालिकाले नवलपुरस्थित कृषि सामग्री कम्पनि लिमिटेडको भवनमा बनाएको आइसोलेसनमा गएर बसेका थिए ।

शुक्रबार बिहान नेगेटिभ रिपोर्ट आएपछि श्रेष्ठ दिउँसो घर फर्किएका हुन् । उनीसँगै नेगेटिभ रिपोर्ट आएको वडा नं. १० नै निवासी नगरपालिकाको कार्यालय सहयोगी युगलबहादुर आले पनि शुक्रबार नै घर फर्किएका छन् ।

यसैगरी लालबन्दीस्थित इन्भेष्टमेन्ट बैंकमा कार्यरत सिर्जना केसीको पनि शुक्रबार नेगेटिभ रिपोर्ट आएको छ । उनी होम आइसालेसनमै बस्दै आएकी थिईन् । लालबन्दी नगरपालिकाले केही दिन पहिले आइसोलेसनमा बसिरहेका १६ जना संक्रमितको स्वाब संकलन गरेर पठाएकामा दोस्रो रिपोर्ट आउँदा १३ जनाको पुनः पोजिटिभ र तीन जनाको नेगेटिभ आएको नगर स्वास्थ्य संयोजक सूर्यनारायण चौधरीले जानकारी दिए ।

त्यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका १२५ जनाको स्वाब परीक्षणको रिपोर्ट पनि शुक्रबार राती अबेर आउँदा २५ जना नयाँ संक्रमित फेला परेका छन् ।