घरमै बसेर मोहरम पर्व मनाउन सीडीओ कार्यालयको आग्रह

3

मलंगवा – मुस्लिम समुदायलाई मोहरम पर्व घरमै बसेर मनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले आग्रह गरेको छ ।

कार्यालयले शुक्रबार एक सूचना निकालेर कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा प्रवन्धसहित परिवारका सदस्य र नजिकका नातेदार मात्रै भेला भएर घरआँगनमै पर्व मनाउन आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्धारा हस्ताक्षरित सूचनाको पालना गरीदिन जिल्लाभरका मूस्लिम धर्मावलम्वीहरुसँग आग्रह गरिएको छ । मुस्लिम समुदायको मोहरम पर्व भोली (आईतबार) परेको हरिवन नगरपालिका वडा नं. ११ का वडाध्यक्ष शेख मेहबुब रेजाले जानकारी दिए । यो पर्वमा मुस्लिम समुदायका बासिन्दाहरु एकठाउँमा जम्मा भई तरबार, लाठी, फराठा, भाला लगायतका जोखिमयुक्त कला कौशल प्रदर्शन गर्ने लगायत मेला लगाउने गर्दछन् । यसवर्ष त्यस्ताखाले मेला नलगाई सामान्य ढंगले पर्व मनाईने वडाध्यक्ष रेजाले बताए ।

यसैबीच सर्लाहीको ईश्वरपुरमा शुक्रबार नै ३७९ जनाको थ्रोट स्वाब लिइएको छ । क्वारेन्टिनमा बसेका, यसअघि संक्रमण पुष्टी भएका संक्रमितको सम्पर्कमा आएका, बजारका व्यापारी लगायत संक्रमणको आशंका गरिएकाहरुको स्वाब संकलन गरिएको नगर प्रमुख मनोज कुमार देवकोटाले जानकारी दिए । उनका अनुसार संक्रमित स्वाब पीसीआर परीक्षणका लागि काठमाडौं पठाईएको छ ।