निषेधाज्ञाकै अवधीमा जनमत पार्टीद्वारा सर्लाहीका तीन पालिकामा प्रदर्शन

4
जनमत पार्टीले गोडैता नगरपालिकामा निकालेको जुलुश ।

गोडैता – सिके राउत नेतृत्वको जनमत पार्टीले निषेधाज्ञाकै बीच बिहिवार सर्लाहीको दक्षिणी भेगका तीन पालिकामा प्रदर्शन गरेको छ ।

कोरोना संक्रमणको भयावह अवस्थामा समेत सो पार्टीले गोडैता र बलरा नगरपालिका एवं रामनगर गाउँपालिकामा जुलुश निकालेको हो । सो पार्टीले नागरिकको हितका लागि विभिन्न माग राखेर ज्ञापन पत्र बुझाउन खोज्दा जनप्रतिनिधिले ज्ञापन पत्र बुझ्न अस्वीकार गरेपछि बाध्य भएर प्रदर्शनमै उत्रिनु परेको बताएको छ ।

उसले गाउँघरमा किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउन, बेरोजगारलाई रोजगार दिन, रोजगारी नदिए बेरोजगार भत्ता उपलब्ध गराउन, विद्यार्थीलाई घरमै बसेर पढ्ने व्यवस्था मिलाउन, नागरिकको स्वास्थ्यमा गम्भीर बन्न र कालोबजारी अन्त्य गर्न माग गरेको छ । यि माग पूरा नहुञ्जेल प्रदर्शन गरिरहने पार्टीका नेता विवेक शर्माले बताएका छन् ।