युवती शव काण्ड : हत्याको आशंका

5
प्रतिकात्मक तस्बीर ।

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–५, मजुर्वामा युवती मृत भेटिएको घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।
स्थानीय भुपनारायण चौधरीकी २० वर्षीया छोरी मनिषा चौधरी आईतबार बिहान मृत फेला परेकी थिईन् । मृतक युवतीको घाँटीमा काटेको चोट र निलडाम देखिएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए । उनले घटना शंकास्पद देखिएकाले सुक्ष्म अनुसन्धान भइरहेको बताए ।
मनिषाको शव भेटिएपछि गाउँलेले प्रहरीमा खबर गरेका थिए । परिवारका सदस्यले घर अगाडि रहेको सजिवनको रुखमुनि घोप्टो परेको अवस्थामा शव देखेपछि घरमा ल्याएर राखेको बताएका छन् । प्रहरी घटनास्थलमा पुग्दा मृतकको शव आँगनमा ल्याएर राखिएको थियो ।