सर्लाहीमा दोस्रो पटक थपिएको निषेधाज्ञाको अवधी आज सकिँदै, दिउँसो बैठक बसेर थप निर्णय लिइने

2
शनिवार मध्यान्ह सुनसान देखिएको लालबन्दीस्थित पूर्व पश्चिम राजमार्ग । तस्बिर : उज्यालो अभियान

मलंगवा – सर्लाही जिल्लाभर दोस्रो पटक थपिएको निषेधाज्ञाको अवधी आज (आइतवार) सकिँदै छ ।

सर्लाहीमा साउन २६ गतेदेखि एक साता निषेधाज्ञा लगाइएको थियो । त्यसपछि दोस्रो पटक पुनः थपिएको निषेधाज्ञाको अवधी आज राती १२ बजेबाट सकिँदै छ । निषेधाज्ञा पुनः थप्ने वा नथप्ने भन्ने विषयमा दिउँसो बैठक बसेर निर्णय गर्न लागिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

प्रजिअ पौडेलका अनुसार सुरक्षा प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थितिमा बैठक बसेर निर्णयमा पुग्न लागिएको हो ।

यता ईश्वरपुरमा आजबाट एक सातासम्म निषेधाज्ञामा थप कडाई गर्ने निर्णय भएको छ । हिजो दिउँसो नगरपालिका कार्यालयमा जनप्रतिनिधि, सुरक्षा प्रमुख, उद्योगी, व्यापारी लगायतको बैठक बसेर नगरभित्र पनि संक्रमण बढ्दै गएकाले एक साता थप कडाई गर्ने निर्णय भएको मेयर मनोज कुमार देवकोटाले जानकारी दिए ।