दुई हप्तामै कोरोनामुक्त भई घर फर्किए वडाध्यक्ष श्रेष्ठ

कोरोनामुक्त भई घर फर्किएका वडाध्यक्ष श्रेष्ठ (रातो खादा पहिरिएका) तस्बिर : उनकै फेसबुकबाट

जनार्जन खत्री, उज्यालो अभियान/लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठ दुई सातामै कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

टाईफाईड हुँदा कोरोनाको आशंकामा थ्रोट स्वाब दिएका श्रेष्ठको गत साउन २३ गते पोजिटिभ रिपोर्ट आएको थियो । उनी त्यस दिनदेखि नै नवलपुरस्थित कृषि सामग्री कम्पनि लिमिटेडको भवनमा बनाइएको आइसोलेसनमा बस्दै आएका थिए । दोस्रो पटकको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि वडाध्यक्ष श्रेष्ठ सुक्रवार दिउँसो घर फर्किएका हुन् ।

सुक्रवार साँझ उज्यालो अभियानसँग कुरा गर्दै वडाध्यक्ष श्रेष्ठले उच्च मनोबल र सबैको हौसल्लाले आफू दुई सातामै कोरोनालाई जितेर घर फर्किन सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले अब पुनः जनताको सेवामै लाग्ने बताएका छन् ।

वडाध्यक्ष श्रेष्ठसँगै निरन्तर डेढ महिनादेखि नवलपुर आइसोलेसनमा बस्दै आएका वडा नं. २ पुनर्वासका एक युवकलाई पनि सुक्रवार घर पठाइएको छ । भारतको केरलाबाट आएका उनको चौथौं परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको छ । तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ती युवकमा भाइरस पोजिटिभ पाएपनि अर्को व्यक्तिमा नसर्ने खालको रहेको बताएपछि युवकलाई होम आइसोलेसनमा बस्ने गरी घर पठाइएको हो ।

कसै–कसैको तीन महिनासम्म पनि परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आउने तर उसले अर्को व्यक्तिमा भाइरस भने नसर्ने ल्याबका स्वास्थ्यकर्मीहरुले बताएका जनाइएको छ ।