खसी बोकाको माग बढ्यो, तर अभाव

7
फाइल तस्बिर : लालबन्दीमा खसी बोकाको किनबेच हुँदै । तस्बिर : उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा खसी बोका पाउनै छाडेको छ । माग अत्यधिक भएपनि गाउँघरमा समेत खसी बोकाको अभाव भएको किसानहरुले बताएका छन् ।

कोरोना कहरले गर्दा ठूलो संख्यामा मानिसहरु गाउँ फर्किएपछि मासुको खपत बढेसँगै खसी बोका पाउन मुस्किल पर्न थालेको हो । व्यावसायिक रुपमा बाख्रापालन हुने जिल्लाको उत्तरी चुरेभेगमै खसी बोकाको अभाव भएको छ ।

अरु समयमा भन्दा अहिले खसी बोकाको काटमार समेत बढेको स्थानीय वासिन्दाले बताएका छन् । जिल्लामा ठाउँ अनुसार खसी बोकाको मासु धार्नीको एक हजार आठ सयदेखि दुई हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

अधिकांश मासु पसल बन्द रहेकाले खसी बोकाको खोजी गर्दै बजार क्षेत्रका वासिन्दा समेत गाउँ घरमा आइरहेका लालबन्दी नगरपालिका–११, सेतीभीरका दुधमान बोम्जनले बताए । नजिकिँदै गरेको दशैंका लागि जोहो गर्नेहरु बढेकाले पनि खसी बोका पाइन छाडेको बोम्जनले बताएका छन् ।

सर्लाहीमा खसी बोकाको किनबेच हुने लालबन्दी, हरिवन, बयलवास र बरहथवा गरी चारवटा बजार रहेका छन् । तर निषेधाज्ञापछि यि सबै बजार बन्द छन् ।

लालबन्दी खसी बजारका ठेकेदार बिजय गोलेले किनबेच बढ्ने समयमा यस वर्ष निरन्तर बजार बन्द हुँदा ग्रामीण भेगबाट खसी बोका भित्रिन नपाएको जानकारी दिए ।