लालबन्दीमा आज फेरि थपिए २४ जना कोरोना संक्रमित

5
लालबन्दी नगरपालिका कार्यालय । तस्बिर : उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकामा थप २४ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । गएराती (बुधबार) आएको रिपोर्ट अनुसार थप २४ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो ।

नगरपालिका कार्यालय गत मंगलबार २२८ जना नयाँ र आईसोलेसनमा बसिरहेका ४ जनाको गरी २३२ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाएको थियो । ‘२२८ जना मध्ये हिजो राती नै २४ जनाको पोजेटिभ रिपोर्ट आईसकेको छ पुराना संक्रमित ४ जनाको स्वाबको रिपोर्ट आउन बाँकी र ५ जनाको रिपोर्टमा भने नेगेटिभ र पोजेटिभ केही पनि लेखिएको छैन, उहाँहरुको पनि केहीबेरपछि कन्फर्म रिपोर्ट पठाउँछौं भन्ने खबर टेकुबाट आईसकेको छ’, लालबन्दी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुरेन्द्र न्यौपानेले भने, ‘२४ जना मध्ये १८ पुरुष तथा ६ महिला हुनुहुन्छ ।’

त्यस्तै २४ जना मध्ये एकजना हरिपुर नगरपालिका–७ निवासी भएकाले उतै तथा एकजना वीरगंज निवासी ग्लोबल आईएमई बैंकका कर्मचारी घर गईसकेकाले उतै आईसोलेसनमा बस्ने र २२ जना लालबन्दी निवासी नै रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । ‘२२ जनामध्ये हालसम्म ११ जनाले होम आईसोलेसनमै बस्ने ईच्छा जाहेर गर्नु भएको छ भने ११ जनालाई नवलपुर स्थित कृषि सामग्री कम्पनीको भवनमा ल्याउने तयारी सूरु गरिसकेका छौ’, न्यौपानेले भने, ‘होम आईसोलेसनमा बस्न ईच्छा व्यक्त गरेका संक्रमितहरुको दिउँसो नगरपालिकाको टोलीले घर अनुगमन गर्दैछ, त्यसपछि उपयुक्त देखिएमात्र होम आईसोलेसनमा छाडिने नत्र कृषि सामग्री कम्पनीको भवनमा ल्याईने तयारी गर्दैछौं ।’

वडाध्यक्ष न्यौपानेका अनुसार पछिल्लो २४ संक्रमित मध्ये लालबन्दी नगरपालिका नै घर भएका २२ जना हुन् । जसमा बजार क्षेत्र पर्ने वडा नं. ७ का मात्र १२ जना, ४ का एकजना, २ का दुईजना, १ का दुईजना, ६ का एकजना, ८ का दुईजना, १० का एकजना र १७ नम्बर वडाका एकजना रहेको लालबन्दी नगरपालिका स्वास्थ्य संयोजक सूर्यनारायण चौधरीले जानकारी दिए । स्वास्थ्य संयोजक चौधरीका अनुसार यो सहित लालबन्दी घर भएका कोरोना संक्रमित ४९ जना पुगेका छन् भने आधिकारिक रुपमा यस उज्यालो अभियानलाई प्राप्त अहिलेसम्मको तथ्यांक अनुसार सर्लाहीमा एकहजार १३२ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ ।