सर्लाहीमा आज थप १९ जनामा कोरोना पोजेटिभ, ११०९ जना पुगे

1

मलंगवा – सर्लाहीमा आज (बुधबार) थप १९ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले सर्लाहीका १९ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको बताएका हुन् । प्रवक्ता डा. गौतमका अनुसार सर्लाहीका १५ जना पुरुष तथा ४ जना महिला गरी १९ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । सर्लाहीका १९ जना भनिएपनि पालिका भने यो समाचार तयार पार्दसम्म खुल्न सकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका कोभिड–१९ सम्बन्धी तथ्यांक हेर्ने स्रोत व्यक्ति सुशिल झाले १९ जना संक्रमित थपिएको जानकारी आएपनि पालिकावाईज थाहा हुन नसकेको बताए । ‘मलाई १९ जना संक्रमितको ठेगाना सर्लाही मात्र भनेर जानकारी आएको छ, कुन–कुन पालिकाका हुन भनेर खोज्ने काम भईरहेको छ’, झाले भने, ‘सम्बन्धित पालिकालाई ठेगाना सहित मेल आउने तर हाँमीलाई भने त्यसरी स्पष्ट ठेगाना खोलेर जानकारी नआउने गरेकाले समस्या भईरहेको छ ।’

गोडैता, कौडेना, कविलासी, हरिपुर, बरहथवा लगायत पालिकाबाट पठाईएका स्वाबहरु मध्ये सबै पालिकाको आधासरो वा केही बढीको मात्र रिपोर्ट आएकाले सोही पालिकाहरुको हुन सक्ने झाको अनुमान छ । यद्यपी पालिकावाईज ठेगाना खुलाउनका लागि सबै पालिकाको स्वास्थ्य शाखाका कर्मचारीसँग सम्पर्कको प्रयास भईरहेको झाले जानकारी दिए ।

आज (बुधबार) थपिएका १९ सहित सर्लाहीमा एकहजार १०९ जना संक्रमित पुगेका छन् ।