बुबाको मुख हेर्ने पर्वका अवसरमा आज वृद्धाश्रममा विभिन्न व्यक्तित्वहरुको सहयोग

2
फाईल तस्बिर

जुटपानी – बुबाको मुख हेर्ने पर्व अर्थात कुशे औंसीको अवसरमा आज (बुधबार) लालबन्दी नगरपालिकाको जुटपानी स्थित पद्म भुवनेश्वरी वृद्धसेवाश्रममा विभिन्न व्यक्तित्व एवं संस्थाले मिष्ठान भोजन गराएका छन् ।

प्रदेश सांसद् बेची लुंगेली, हरिवनको घुर्कौली स्थित बालगृह सञ्चालक संस्था चेतना सन्देश नेपालका अध्यक्ष एवं समाजसेवी सुरेन्द्र लामा लगायतले बुधबार बिहानै वृद्धाश्रममा आएर बिहानको खाजा र बेलुकाको मिष्ठान भोजन सहयोग गरेको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।

अध्यक्ष कोइरालाका अनुसार त्यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्वममणि पोखरेल लगायतले आज (बुधबार) बिहानको मिष्ठान भोजन गराउनुको साथै खाद्यान्न सामाग्री समेत सहयोग स्वरुप उपलब्ध गराएका छन् ।

त्यसैगरी लालबन्दी नगरपालिका–१ नवलपुर स्थित ग्रामिण बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीका पदाधिकारीहरू, सदस्यहरू र अन्य शेयर सदस्यहरूको उपस्थितिमा वृद्धाश्रमलाई खाद्यान्न सामाग्रीहरू उपलब्ध गराएको अध्यक्ष कोईरालाले बताईन् । सहयोगी दाताहरुप्रति धन्यवाद प्रकट गर्दै अध्यक्ष कोइरालाले आगामी दिनमा समेत निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् ।
फोटो क्याप्सन ः बुधबार बिहान मिष्ठान भोजन गर्दै आश्रममा आश्रीत वृद्धवृद्धा एवं बालबालिका । (तस्बिर ः भवानी कोइरालाको फेसबुकबाट)