सर्लाहीको कौडेनामा दुई वडाध्यक्ष र स्वास्थ्य संयोजक पनि संक्रमित

5

मलंगवा – जिल्लाको दक्षिणी क्षेत्र स्थित कौडेना गाउँपालिकामा दुईजना वडाध्यक्ष र एक स्वास्थ्य संयोजक सहित ५६ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय मलंगवामा कोरोना भाईरस तथ्यांक संकलन शाखाले जानकारी दिए अनुसार आज (मंगलबार) दिउँसो आएको रिपोर्ट अनुसार वडा नम्बर १ का वडाध्यक्ष मनोज साह, ७ का वडाध्यक्ष विजय यादव तथा गाउँपालिकाका स्वास्थ्य संयोजक शम्भुप्रसाद यादवलाई पनि कोरोना भाईरस पोजेटिभ देखिएको हो । कौडेनाबाट पठाईएको ३०० स्वाब मध्ये १६५ जनाको परीक्षण गर्दा ५६ जनामा पोजेटिभ देखिएको छ ।

यसअघि यसै उज्यालो अभियानलाई जिल्ला प्रशासन कार्यालयको सोही शाखाले कौडेनाका ५८ जनामा कोरोना भाईरस पोजेटिभको रिपोर्ट आएको जानकारी दिएको थियो । रिपोर्टको विस्तृतमा ‘भेरिफाई’ गर्ने क्रममा अहिले साँझ कौडेनाका ५६ जनामा मात्र पोजेटिभ देखिएको र विष्णु गाउँपालिकामा यसअघि १२ जना भनिएकोमा १३ जना देखिएको तथ्यांक संकलन शाखाका मुकेश यादवले जानकारी दिए ।

त्यस्तै हरिपुर नगरपालिकामा जोखिम भत्ता माग्दै नगरपालिका कार्यालयमा धर्ना बसिरहेका तीनजना स्वास्थ्यकर्मी सहित ३१ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । जिल्ला प्रशासन कार्यालयको कोरोना भाईरस सम्बन्धी तथ्यांक संकलन गर्ने शाखाले जानकारी गराए अनुसार यसअघि यसै उज्यालो अभियान अनलाईनमा १०१ जना संक्रमित फेला भन्ने समाचार प्रकाशन भएको थियो । कौडेनामा दुईजना घटेको र विष्णुमा एकजना बढेपछि १०० जना कोरोना भाईरसबाट संक्रमित भएका छन् ।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्बन्धी हेर्ने स्रोत व्यक्ति सुशिल झाका अनुसार कविलासी नगरपालिकामा पनि आजै ८ जना कोरोना भाईरस पोजेटिभ भन्ने जानकारी आएको बताए । ‘आज धेरैजना संक्रमित भएको जानकारी आएको छ’, उज्यालो अभियानसँग झाले भने, ‘सबैतिरबाट तथ्यांक संकलन गर्दै भेरिफाई गर्ने काम भईरहेकाले साँझसम्म मात्र सर्लाहीका कुल संक्रमितको संख्या भन्न सकिन्छ ।’