ईश्वरपुर र बागमतीमा ५७० जनाको थ्रोट स्वाब संकलन, टेकु पठाइयो

3
ईश्वरपुरमा थ्रोट स्वाब लिइँदै । तस्बिर : प्रकाश मैनाली/उज्यालो अभियान

लालबन्दी – समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन सर्लाहीको ईश्वरपुर र बाग्मतीमा सोमवार ठूलो संख्यामा थ्रोट स्वाब संकलन गरिएको छ ।

ईश्वरपुर नगरपालिकाले ३२८ जना र बागमती नगरपालिकाले २४२ जनाको स्वाब संकलन गरेका हुन् । ती दुवै ठाउँको स्वाब परीक्षणका लागि सोमवार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको पालिकाहरुले जनाएका छन् ।

जोखिममा रहेर काम गरिरहेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, व्यापारी, चिसा पसले, बैंक तथा वित्तीय संस्थामा कार्यरत व्यक्तिहरुको स्वाब संकलन गरिएको हो । यस्तै लालबन्दी नगरपालिकाले मंगलवार थप व्यक्तिहरुको स्वाब संकलन गर्ने तयारी गरिरहेको छ ।

सर्लाहीमा कोरोना भाइरसको परीक्षण दायरा बढाउँदै लगिए पनि स्वास्थ्य मापदण्डको भने पालना हुन सकेको छैन् । समुदाय स्तरमा सङ्क्रमण पाइएपछि पालिकाहरुले परीक्षण दायरा बढाउँदै लगिरहेका छन् । तर आवश्यक सावधानी भने नअपनाइएको गुनासो बढेको हो ।