सर्लाहीमा एक साताको निषेधाज्ञा आज सकिँदै, थप निर्णय गर्न संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै

4

मलंगवा – कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै सर्लाहीमा साउन २६ गतेदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञाको समय आज (आईतवार) सकिँदै छ ।

समुदाय स्तरमै संक्रमण पाइएपछि स्थिति थप भयावह हुन नदिन भन्दै निषेधाज्ञा जारी गरिएको हो । आज राती १२ बजेपछि निषेधाज्ञाको समय सकिने भएकाले जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आज दिउँसो १ बजे बैठक बसेर निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने बारेमा निर्णय लिइँदै छ ।

एक हप्ताको बीचमा जिल्लामा थुपै्र संक्रमित थपिएकाले निषेधाज्ञा पुनः थपिने सम्भावना बढी देखिएको छ । आज बिहान उज्यालो अभियानसँग कुरा गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलले अहिलेसम्म प्राप्त राय सुझावमा निषेधाज्ञा थप्नु पर्ने पक्षधर नै धेरै देखिएका बताए । दिउँसोको बैठकमा सुरक्षा प्रमुख, राजनीतिज्ञ, स्वास्थ्यविज्ञ सबै बसेर अवस्था मूल्यांकन गरी यसबारेमा निर्णय लिइने प्रजिअ पौडेलले बताए ।

निषेधाज्ञा जारी भएदेखि जिल्लामा कार्यालय, बैंक तथा वित्तीय संस्था, हाटबजार र मानिसको धेरै भीडभाड हुने ठाउँहरु बन्द गरिएका छन् । समुदाय स्तरमा संक्रमणको अवस्था थाहा पाउन पालिकाहरुले आ–आफ्नो ठाउँमा परीक्षणको दायरा पनि बढाउँदै लगिरहेका छन् ।