सर्लाहीको बरहथवामा आज फेरि १२ जना थपिए, दुई दिनमा ४७ संक्रमित

बरहथवा – बरहथवा नगरपालिकामा आज (आईतबार) फेरि थप १२ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । हिजो (शनिबार) को रिपोर्टमा बरहथवामा ३५ जना कोरोना संक्रमित फेला परेका थिए । यो सँगै दुईदिन यता बरहथवामा ४७ जना कोरोना संक्रमित फेला परेका छन् ।

बरहथवा नगरपालिका स्वास्थ्य शाखा संयोजक रामएकवाल रायका अनुसार केही बेर अघि आएको जानकारी अनुसार आईतबार थप १२ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । काठमाडौंको टेकुबाट आएको जानकारी अनुसार शनिबार ३५ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको थियो । बरहथवाबाट गत शनिबार ३०८ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि वीरगंज पठाईएको थियो । स्रोतका अनुसार त्यहाँ परीक्षण गर्दा निकै धेरैजनाको पोजेटिभ रिपोर्ट आएपछि सबै स्वाब पुनः परीक्षणका लागि काठमाडौंको टेकु पठाईएको थियो ।

शनिबारबाट धमाधम परीक्षण रिपोर्ट आउन थालेको स्वास्थ्य शाखा प्रमुख रायले जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख रायका अनुसार ३०८ जना मध्ये हालसम्म २०८ जनाको परीक्षण रिपोर्ट अनुसार ४७ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । अब १०० जनाको रिपोर्ट आउन बाँकी छ ।

थपिएका ४७ जना संक्रमितहरु हिरापुर, श्रीपुर लगायत गाउँका समेत रहेका छन् । त्यस्तै औषधी पसले, किराना पसले सहित बरहथवा बजार क्षेत्रका बासिन्दामा बढी कोरोना संक्रमण देखिएको छ ।

यसअघिका १९ जना संक्रमितहरु अहिलेपनि प्राथमिक स्वास्थ्य केन्द्र स्थित सर्पदंश उपचार केन्द्रको आईसोलेसन कक्षमा उपचाररत छन् । हिजो शनिबार र आज आईतबार देखिएका संक्रमितहरु अहिले आ–आफ्नो घरमै आईसोलेसनमा बसेको रायले जानकारी दिए । ‘अहिले तत्काललाई नगरपालिकाको आईसोलेसनमा ल्याउन सम्भव छैन’, रायले आईतबार राती उज्यालो अभियानसँग भने, ‘हिजो र आज देखिएका संक्रमितलाई अहिले आ–आफ्नै घरमा सुरक्षित रहन भनिएको छ, यदि कोही अत्यन्त गरिब, विपन्न र असहाय छन् र घरमा बस्न सम्भव छैन भन्ने जानकारी गराएमा नगरपालिकाको आईसोलेसनमा ल्याउने छौं ।’

शनिबार थपिएका संक्रमितमा बरहथवा नगरपालिकाका वडाध्यक्ष सहित व्यापारी, औषधी पसले, सर्वसाधारण लगायत रहेका छन् । वडाध्यक्षका परिवारका सदस्य एवं हजरिया, श्रीपुर, हिरापुर लगायत गाउँ गाउँमै कोरोना भाईरसका संक्रमित देखिन थाल्नुले समुदाय स्तरमै संक्रमण फैलिएको स्पष्ट भएको जानकारहरु बताउँछन् ।

जिल्ला प्रशासन कार्यालयले जानकारी गराए अनुसार हिजो (शनिबार) सम्म सर्लाहीमा ९६२ जना संक्रमित पुगेका छन् । आज (आईतबार) बरहथबाका १२ थपिएसँगै सर्लाहीमा संक्रमित संख्या ९७४ पुगेको छ ।