सर्लाहीको ईश्वरपुरमा दुई पक्षबीच झडप, प्रहरीद्वारा तीन सेल अश्रुग्याँस प्रहार

5

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–५, सखुवनीमा आज (आईतबार) बिहान दुई पक्षबीच झडप हुँदा केही मानिस घाईते भएका छन् ।

गाउँमा रहेको ऐलानी जग्गामा शव जलाउने घाट बनाउने की ? खेल मैदान बनाउने ? भन्ने विषयमा दुई पक्षबीच उत्पन्न विवाद झडपमै परिणत भएको हो । विवाद मिलाउन बिहान दुई पक्षबीच वडा कार्यालयमा छलफल चलिरहेका बेला अचानक अवस्था बिग्रिएको थियो । खेल मैदान बनाउनु पर्छ भन्ने पक्ष र शव जलाउने घाट बनाउनु पर्छ भन्ने पक्षबीच आक्रमणकै अवस्था आएपछि प्रहरीले ३ सेल अश्रु ग्याँस प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो ।

ईश्वरपुर नगरपालिका–५, का वडाध्यक्ष रुपबहादुर आले मगरले विवाद मिलाउन केही दिनभित्रै सबै पक्षलाई राखेर थप छलफल गर्ने बताएका छन् । उनका अनुसार गाउँमा रहेको करिव दुई विगाह ऐलानी जग्गा कुन प्रयोजनमा प्रयोग भन्ने विषयमा केही समयदेखि विवाद चल्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले शव जलाउने घाट र खेल मैदानका विषयमा विवाद बढ्दै गएर झडप नै भएपछि स्थिती नियन्त्रणमा लिनका लागि अश्रुग्याँस प्रहार गर्नु परेको जानकारी दिए । ‘वर्षौंदेखि शव जलाउने घाटको रुपमा प्रयोग हुँदै आएको जमिनमा अहिले खेल मैदान बनाउनुपर्छ भनेर विवाद झिकिएको रहेछ’, प्रउ पोखरेलले भने, ‘विवाद बढ्दै गएर झडपमै परिणत भएपछि बल नै प्रयोग गर्नु पर्यो ।’