सर्लाहीमा निषेधाज्ञाको आज छेठौं दिन, निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने निर्णय भोली हुने

निषेधाज्ञापछि सुनसान बनेको लालबन्दीस्थित पूर्व-पश्चिम राजमार्ग । तस्बिर : उज्यालो अभियान

जनार्जन खत्री, लालबन्दी – सर्लाहीमा निषेधाज्ञा जारी भएको आज (शनिवार) छेठौंँ दिन । यो अवधीमा जिल्लाका हाटबजार, कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहेका छन् ।

कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे थप निर्णय लिइने सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सुक्रवार बिहान उज्यालो अभियानसँगको कुराकानीमा बताए । निषेधाज्ञाकै बीचमा पनि जिल्लामा थुपै्र संक्रमित बढेकाले साउन ३२ गते अर्थात भोलीबाट पनि पुनः निषेधाज्ञाको समय थप हुने सम्भावना रहेको छ । प्रजिअ पौडेलले सबै क्षेत्रको राय सुझाव लिएर यसबारेमा भोली (आइतवार) बैठक बसी निर्णय लिइने जानकारी दिएका छन् ।

समुदाय स्तरमै संक्रमण पाइएपछि जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले साउन २६ गतेदेखि एक साताका लागि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरी जिल्लाभर निषेधाज्ञा लागू गरेको हो । निषेधाज्ञामा अत्यावश्यक प्रयोजनमा प्रयोग हुने सवारी मात्रै सञ्चालन गर्न दिने भनिएपनि केही निजी तथा साना किसिमका भाडाका गाडी चलिरहेका छन् । अनावश्यक रुपमा भइरहेको हिँड्डुल पनि नियन्त्रण हुन सकेको छैन् ।

बजार क्षेत्रमा मास्कको प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नेहरु भने पछिल्ला दिनमा बढेका छन् । एकैसाथ २२ जनामा संक्रमण पाइएपछि हरिवन बजार क्षेत्रमा नगरपालिकाकै पहलमा अनावश्यक आवागमनमा कडाई गरिएको छ । सरकारले जोखिमको सूचीमा राखेको सर्लाहीमा कोरोना संक्रमितको संख्या ९ सय नाघिसकेको छ ।