लालबन्दी : एक हप्तापछि बल्ल आउन थाल्यो रिपोर्ट, ५३ जनाको रिपोर्ट आइसक्दा ३ जनाको पोजिटिभ

10

जनार्जन खत्री, उज्यालो अभियान/लालबन्दी – सर्लाहीको लालबन्दीबाट पठाइएको थ्रोट स्वाबको एक सातापछि बल्ल रिपोर्ट आउन थालेको छ ।

यही साउन २४ गते शनिवार जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको ६१ जनाको थ्रोट स्वाबमध्ये शनिवार दिउँसोसम्म ५३ जनाको परीक्षण रिपोर्ट प्राप्त भएको नगरपालिकाको स्वास्थ्य शाखा सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए । रिपोर्ट आएकामध्ये तीन जनामा कोरोना संक्रमण पाइएको छ ।

सुक्रवार (हिजो) वडा नं. १० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठ र शनिवार वडा नं. २ पुर्नवासका दुई जनाको पोजिटिभ रिपोर्ट आएको हो । शनिवार संक्रमण पुष्टी भएका दुई जना बुवा छोरा हुन् ।

५० वर्षका बुवा र २४ वर्षका छोरा दुवैलाई नवलपुरस्थित आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य सह–संयोजक खतिवडाले बताए । संक्रमित बुवा छोरा भरतपुरमा उपचार गराउन जाँदा स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण पाइएका ७९ वर्षीय वृद्धका छोरा र नाती हुन् ।

वृद्धमा संक्रमण पुष्टी हुनासाथ कन्ट्याक्ट टे«सिङका आधारमा परिवारका सदस्यको स्वाब संकलन गरी परीक्षण गराउँदा उनका छोरा र नातीमा पनि संक्रमण पाइएको हो । संक्रमित वृद्ध अरु रोगको बिरामी समेत भएकाले उहाँलाई केही दिन अघि जनकपुर पठाइएको थियो ।

यस्तै लालबन्दीबाट जनकपुर पठाइएको ६१ जनाको स्वाबमध्ये अझै ८ जनाको रिपोर्ट आउन बाँकी छ । बाँकी ८ जनाको आइतवार (भोली) मात्रै स्वाब परीक्षण हुने प्रयोगशालाले जानकारी गराएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यसैगरी गत सोमवार लालबन्दीबाटै हेटौंडास्थित प्रयोगशालामा स्वाब पठाइएको १२३ जनाको रिपोर्ट पनि आउन बाँकी छ ।