लालबन्दी अपडेट : हेटौंडाको रिपोर्ट पनि आयो, १२ जना पोजेटिभ

लालबन्दी – सर्लाहीको लालबन्दीबाट गत सोमवार हेटौंडा पठाइएको १२३ जनाको थ्रोट स्वाबमध्ये १२ जनामा कोरोना संक्रमण पाइएको छ ।

आज अपरान्ह प्राप्त रिपोर्ट अनुसार आइसोलेसनमा बसिरहेका एक जनाको तेस्रो पटकको रिपोर्ट पोजिटिभसँगै अरु ११ जना नयाँ संक्रमित थपिएका हुन् । उनीहरु सामाजिक अभियन्ता, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, स्वास्थ्यकर्मी, नगरपालिकाका सुरक्षागार्ड लगायत रहेका छन् ।

उता जनकपुर पठाइएको ६१ जनाको स्वाबमध्ये ५३ जनाको रिपोर्ट आउँदा तीन जनामा संक्रमण पाइएको थियो । यो सहित लालबन्दीमा पछिल्लो तीन चरणमा स्वाब संकलन गरिएको मध्ये २ जना वडाध्यक्ष सहित १९ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । जनकपुर पठाईएको ६१ जनाको स्वाब मध्ये अझै ८ जनाको रिपोर्ट आउन बाँकी नै छ ।

स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा टेकुको ल्याबमा परीक्षण गर्दा सर्लाहीमा ४० जना संक्रमित भेटिएको उल्लेख गरेपनि त्यसको पुष्टी हुन बाँकी छ ।