२२ जना संक्रमित फेला परेपछि चैत्र ११ को लकडाउन भन्दापनि सुनसान बन्यो हरिवन बजार

शुक्रबार बिहान सुनसान देखिएको हरिवन बजार । (तस्बिर : उज्यालो अभियान)
तरकारी, किराना लगायत सामान किनबेचका कारण सँधै अत्यन्त भिडभाड हुने हरिवन चोक कृष्ण मन्दिर छेउबाट घुकौर्ली जाने सडकखण्डमा शुक्रबार बिहानको दृष्य । (तस्बिर : उज्यालो अभियान)

हरिवन – हरिवन नगरपालिकाद्वारा गत साउन २६ गते सोमबार संकलित ४११ जनाको थ्रोट स्वाब मध्ये थप नौ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । विहिबार राती थप नौ जनामा कोरोना भाईरस संक्रमण देखिएको खबर आएको मेयर गणेशप्रसाद प्रसाईंले जानकारी दिए । यो सहित हरिवनमा संकलित स्वाब मध्ये २२ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।

त्यसअघि विहिबार बिहानै १३ जनामा कोरोना भाईरस संक्रमण देखिएको थियो । पछिल्लो नौ जनामा हरिवन–११ निवासी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अच्युतम काफ्ले, हरिवन बजार स्थित सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी हरिवन–८ निवासी जान्दबी बडाल, हरिवन–९ नोचा स्थित सगुन शिक्षा आवासीय विद्यालयका प्रधानाध्यापक, ग्लोबल आईएमई बैंकका एक कर्मचारी लगायत रहेका छन् । पछिल्लो संक्रमित ९ जनामा हरिवन बजार क्षेत्र पर्ने वडा नंं. ११ का मात्र ४ जना रहेका छन् । त्यस्तै सशस्त्र प्रहरी बेसक्याम्प हरिवनका २ जना सुरक्षाकर्मी पनि थपिएका छन् । यो सहित बेसक्याम्का सशस्त्र प्रहरी नायब निरीक्षक सहित तीनजनामा संक्रमण देखिएको छ ।

विहिबार बिहान १३ जनाको रिपोर्ट अनुसार हरिवन नगरपालिका–११ निवासी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनलाल श्रेष्ठ, सुनचाँदी व्यवसायी संघका अध्यक्ष निरन्जन साह सोनार सहित ५ जना, हरिवन–८ निवासी एक होटल व्यवसायी सहित ३ जना, हरिवन–७ निवासी मालपोत कार्यालय हरिवनमा कार्यरत १ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको मेयर प्रसाईंले जानकारी दिए । त्यस्तै सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत बागमती निवासी १ जना, लालबन्दी स्थित युनाईटेड ईन्स्योरेन्स कम्पनीमा कार्यरत लालबन्दी नगरपालिका–१ निवासी १ जना, सशस्त्र प्रहरी बेस क्याम्प हरिवनका १ जना सशस्त्र प्रहरी नायब निरीक्षक र ईलाका प्रहरी कार्यालय हरिपुरमा कार्यरत एक प्रहरी जवानमा कोरोना भाईरस पोजेटिभ देखिएको थियो ।

व्यापारी, सरकारी कर्मचारी, सहकारीका कर्मचारी, सुरक्षाकर्मी, होटलव्यवसायी लगायतमा कोरोना भाईरस पोजेटिभ देखिएपछि समुदाय स्तरमै कोरोना फैलिएको भन्दै हरिवन नगरपालिका कार्यालयले शुक्रबार बिहानबाट नगर क्षेत्र पूर्ण रुपले ‘सिल’ गरेको छ । नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले आज (शुक्रबार) बाट नगर क्षेत्रमा औषधी पसल बाहेक सम्पूर्ण पसलहरु तथा निजी तथा सार्वजनिक याातायातका साधनहरु १५ दिनसम्म पूर्ण रुपले बन्द हुने जानकारी दिए ।

‘भटाभट कोरोना संक्रमित देखिएकाले हरिवनमा समुदाय स्तरमै कोरोना भाईरसको संक्रमण फैलिएको स्पष्ट भएको छ, त्यसैले अब यो महामारीबाट जोगिनका लागि कम्तिमा १५ दिनसम्म सबै नगरबासीले दुःखकष्ट व्यहोर्नै पर्नेछ’, मेयर प्रसाईंले उज्यालो अभियानसँग भने, ‘अब औषधी पसल बाहेक बजार पूर्ण रुपले बन्द गर्ने तथा अत्यावश्यक बाहेक यातायातका सम्पूर्ण साधन बन्द गर्ने निर्णय भएको छ, संक्रमणबाट जोगिनका लागि सबैले यो नियम पालना गर्ने गराउने तर्फ ध्यान दिनसमेत आग्रह गर्दछु ।’

विहिबार बिहान पोजेटिभ रिपोर्ट आएका १३ जना संक्रमितहरु मध्ये २ जना अन्य पालिकाकै आईसोलेसनमा बसेका छन् भने ११ जना हरिवन नगरपालिकाको नयाँ भवन स्थित आईसोलेसनमा विहिबार साँझै आएर बसिसकेका छन् । त्यस्तै विहिबार राती पोजेटिभ रिपोर्ट आएकाहरुलाई पनि अहिलेबाट धमाधम आईसोलेसनमा राख्ने काम भईरहेको मेयर प्रसाईंले जानकारी दिए । एकदुई दिनभित्रै संक्रमितका परिवार तथा कन्ट्रयाक्ट ट्रेसिङका आधारमा उनीहरुसँग सम्पर्कमा रहेका अन्यको पनि स्वाब संकलन गर्ने तयारी गरिएको मेयर प्रसाईंले बताए ।

सुरक्षाकर्मीले बिहानैदेखि कडाई गरेका कारण र स्थानीयबासी समेत त्रसित बनेका कारण हरिवन बजार क्षेत्र चैत्र ११ गते सरकारले गरेको लकडाउन भन्दापनि सुनसान देखिएको छ । बजार क्षेत्रमा औषधी पसल बाहेक सम्पूर्ण पसलहरु बन्द छन् । राजमार्ग लगायत भित्री सडकमा अनावश्यक गुडने सवारी साधनलाई धमाधम नियन्त्रणमा लिने काम भईरहेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले जानकारी दिए । अत्यावश्यक काम बाहेक चलेका मोटरसाईकल लगायत सवारी साधनलाई नियन्त्रणमा लिईने र १५ दिनसम्म नछाडिने उनले बताए ।