हरिवनमा सुक्रवार बिहानैदेखि आवागमनमा कडाई

हरिवन बजारमा निषेधाज्ञा उल्लंघन गर्दै राजमार्गमा गुडेका मोटरसाईकल लगायत सवारीसाधन नियन्त्रणमा लिदैं गरेका प्रहरी र ट्राफिक प्रहरी । (फाईल तस्बिर)

हरिवन – एकैपटक २२ जनामा कोरोना भाइरसको संक्रमण पाइएपछि सर्लाहीको हरिवन बजार क्षेत्रमा आज (सुक्रवार) बिहानैदेखि आवागमनमा कडाई गरिएको छ ।

अनावश्यक रुपमा हिँड्डुल गर्ने पैदल यात्री र जथाभावी चलाइएका मोटरसाइकल लगायतका अन्य सवारी साधनलाई नियन्त्रणमा लिने काम भइरहेको प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेन्द्र प्रसाद उपाध्यायले जानकारी दिए । नगरपालिकाले बिहिवार पहिलो लटमा १३ जनामा संक्रमण देखिनासाथ सुक्रवारबाट आवागमनमा कडाई गर्ने, औषधि पसलहरु बाहेक बजार पूर्ण रुपमा बन्द गर्ने र अत्यावश्यक काम पर्दाबाहेक बाहिर ननिस्कन नगरवासीहरुमा आग्रह गरेको थियो ।

तर बजार क्षेत्रमा बिहानैदेखि आवागमन देखिएपछि प्रहरी कारवाहीमै उत्रिनु परेको हो । हरिवनबाट गत सोमवार ४११ जनाको थ्रोट स्वाब पठाइएकोमध्ये राती अबेरसम्म २२ जनाको पोजिटिभ रिपोर्ट आएको छ ।

नगरपालिकाले ४११ जनाको बिहिवार दिउँसो नै रिपोर्ट आइसकेकोे बताएपनि राती फेरी केही संक्रमित थपिएका हुन् । संक्रमितहरुलाई नगरपालिकाले चिनी मिलदेखि पूर्व बासाटोलमा निर्माण गरेको नयाँ नगरपालिका भवनमा ल्याई बेग्लाबेग्लै आइसोलेटेड गरेर राख्ने काम चलिरहेको छ ।