क्वारेन्टाइनका लागि होटल दिन व्यवसायी तयार

12

सर्लाही – सर्लाही सहित प्रदेश दुईको आठवटै जिल्लाका होटल व्यवसायीहरु क्वारेन्टाइनका लागि आ–आफ्नो होटल दिन तयार भएका छन् ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुईको भर्चुअल बैठकमा प्रदेशभरका व्यवसायीहरु नेपाल सरकारले निर्धारण गरेको शुल्कमा क्वारेन्टाइनका लागि होटल प्रदान गर्न तयार भएका हुन् । बैठकमा सहभागी महासंघका प्रदेश कोषाध्यक्ष एवं नमस्ते होटल लालबन्दीका सञ्चालक बैकुण्ठ सापकोटाले जिल्ला प्रशासन कार्यालय र पालिकाहरुले क्वारेन्टाइन राख्न होटलको माग गरे उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

विभिन्न देशबाट उद्धार गरेर काठमाण्डौं ल्याइएकाहरुलाई राख्न सरकारले त्यहाँका होटललाई बुझाएको शुल्कलाई नै आधार मानेर यस प्रदेशका होटल पनि उपलब्ध गराउने प्रदेशभरका होटल व्यवसायीहरुको बैठकबाट निर्णय गरिएको हो । भर्चुअल बैठकमा सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, धनुषा र सिरहाका अगुवा होटल व्यवसायी सहभागी भएका थिए ।

प्राविधिक कारणवस सप्तरीका प्रतिनिधि सहभागी हुन नपाएपनि टेलिफोनमार्फत त्यहाँका व्यवसायीले पनि महासंघको निर्णयलाई स्वीकार गरेका कोषाध्यक्ष सापकोटाले बताए । कोरोनाको कहर सुरु भएपछि भारतसँग सीमा जोडिएको प्रदेश दुईमा अन्य व्यवसायसँगै होटल तथा पर्यटन क्षेत्र पनि प्रभावित भइरहेको छ ।

संघीय सरकारले घोषणा गरेको बन्दाबन्दी खुकुलो पार्दै लाँदा विस्तारै तंग्रिएको होटल व्यवसाय अहिले जिल्लागत रुपमा र पालिकाहरुमा निषेधाज्ञा जारी भएपछि पुनः मारमा परेका छन् । बजार बन्द रहेको र सवारी आवागमन पातलो रहेकाले यहाँका होटलहरु अहिले बन्द रहेका छन् ।