भोलीबाट हरिवन प्रहरीले मोटरसाईकललाई १५ दिनसम्म नियन्त्रणमा राख्ने

हरिवन बजारमा निषेधाज्ञा उल्लंघन गर्दै राजमार्गमा गुडेका मोटरसाईकल लगायत सवारीसाधन नियन्त्रणमा लिदैं गरेका प्रहरी र ट्राफिक प्रहरी । (फाईल तस्बिर)

हरिवन – हरिवन नगरपालिकाद्वारा गत साउन २६ गते सोमबार संकलित ४११ जनाको थ्रोट स्वाब मध्ये १३ जनामा कोरोना भाईरस संक्रमण देखिएपछि भोली (शुक्रबार) देखि हरिवन नगर क्षेत्रमा यातायात आवागमनमा पूर्ण रुपले कडाई गरिने भएको छ ।

व्यापारी, सरकारी कर्मचारी, सहकारीका कर्मचारी, सुरक्षाकर्मी, होटलव्यवसायी लगायतमा कोरोना भाईरस पोजेटिभ देखिएपछि समुदाय स्तरमै कोरोना फैलिएको भन्दै ईलाका प्रहरी कार्यालय हरिवनले यातायात आवागमनमा कडाई गर्ने भएको हो । ‘भोली शुक्रबारबाट अत्यावश्यक सबारी बाहेक राजमार्गमा गुड्ने मोटरसाईकल सहित सबै सवारी साधनलाई नियन्त्रणमा लिनेछौं’, ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले भने, ‘समुदाय स्तरमै कोरोना भाईरसको संक्रमण फैलिएको अवस्थामा थप महामारीबाट जोगिनका लागि पूर्ण रुपले लकडाउनको विकल्पै हुन सक्दैन ।’

उनले सचेत नागरिकको भूमिका निर्वाह गर्दै अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र अत्यावश्यक काम परे मास्क लगाएर मात्र निस्कन समेत आग्रह गरेका छन् । मास्क नलगाई घरबाहिर हिँड्ने जोसुकैलाई नियमानुसार जरिवाना समेत गरिने प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिए ।

शुक्रबार आएको रिपोर्ट अनुसार हरिवन नगरपालिका क्षेत्र भित्रका ९ जना सहित ११ जना संक्रमितलाई हरिवन नगरपालिकाको नयाँ भवन स्थित आईसोलेसनमा राखिएको छ ।