सर्लाहीमा हिजो थपिएका ४१ जना मध्ये अधिकांश संक्रमित कर्मचारी, बरहथवाको थ्रोट स्वाब कन्फर्म गर्न टेकु पठाइयो

मलंगवा – सर्लाहीमा हिजो (मंगलबार) थपिएका ४१ जना कोरोना संक्रमित सबै सदरमुकाम मलंगवा नगरपालिकाका रहेका खुलेको छ ।

स्वास्थ्य मन्त्रालयबाट ढिलो गरी आज (बुधबार) दिउँसो मात्र आधिकारिक विवरण प्राप्त भएको र संक्रमितहरु सबै मलंगवाका रहेका खुलेको स्वास्थ्य कार्यालय मलंगवाका कोभिड फोकल पर्सन सुशील झाले जानकारी दिए । झाका अनुसार संक्रमितहरुमा मालपोत, भूमीसुधार लगायत कार्यालय तथा द–सहारा, राजश्री लगायतका बैंक एवं वित्तीय संस्था र अस्पतालका कर्मचारीहरु रहेका छन् । रिपोर्ट आएको २४ घण्टापछि पालिका पुष्टी भएर आएपछि संक्रमितहरुलाई सम्पर्क गरी आइसोलेसनमा राख्ने काम सुरु भएको छ । यो सँगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या ८६७ पुगेको छ ।

त्यस्तै वीरगञ्जको ल्याबमा परीक्षण गर्दा शंका लागेपछि बरहथवाबाट केही दिनअघि पठाइएको ३०८ जनाको थ्रोट स्वाब पुनः परीक्षणका लागि त्यहाँबाट टेकु पठाइएको छ । वीरगञ्जमा परीक्षण गर्दा धेरैको रिपोर्ट पोजिटिभ देखाएपछि कनफर्म हुन राष्ट्रिय ल्याबमै पठाइएको बरहथवा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राम एकवाल रायले बताए । बरहथवामा साउन १७ र १८ गते संक्रमण पुष्टी भएका २५ जनाको कन्ट्रयाक ट्रेसिङ गरी ३०८ जनाको स्वाब लिइएको थियो ।

यसैगरी हरिवनबाट टेकु पठाइएको ४११ जनामध्येको रिपोर्ट धमाधम आइरहेको छ । बुधबार दिउँसो सम्म ४० जनाको रिपोर्ट आएको र आएकामध्ये अहिलेसम्म पोजिटिभ केस नदेखिएको हरिवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख शशिकान्त सिंहले जानकारी दिए । लालबन्दीबाट गत शनिवार नै जनकपुर पठाइएको ६१ जना र सोमवार हेटौंडा पठाइएको १२३ जनाको रिपोर्ट अहिलेसम्म आउन सकेको छैन् ।

जनकपुरमा अझै पनि अरु ठाउँको स्वाब सँगै यहाँको क्यू मा रहेकाले आज नभए भोली (विहिबार) रिपोर्ट आउने सम्भावना रहेको र हेटौंडाले पनि अब भोली मात्रै रिपोर्ट आउने बताएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाा संयोजक सूर्यनारायण चाैधरीले बताए ।