फलफुल तथा तरकारी व्यापारीलाई गाउँगाउँ जान हरिवन नगरपालिकाको सूचना

7

हरिवन, साउन २८ – हरिवन नगरपालिकाले एक सूचना प्रकाशित गर्दै हरिवन बजार क्षेत्रमा स्थायी ढंगले पाल टाँगेर तरकारी विक्री गर्दै आईरहेका खुद्रा व्यापारीलाई गाउँगाउँमा ठेला मार्फत किनबेच गर्न भनेको छ ।

मंगलबार नगर प्रमुख गणेश प्रसाद प्रसाईंद्वारा हस्ताक्षरित सूचनामा तरकारीका खुद्रा व्यापारीलाई एकै ठाउँमा बसेर नभई ठेला मार्फत गाउँ गाउँमा गएर बिक्री गर्न भनिएको हो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण बढन थालेका कारणले स्थिती भयावह हुन नदिन जिल्ला प्रशासन कार्यालयले साउन ३२ गतेसम्म सर्लाही जिल्लाभर निषेधाज्ञा जारी गरेको स्मरण गराउँदै प्रमुख प्रसाईले उक्त निषेधाज्ञाको पूर्ण पालना गर्न समेत आग्रह गरेका छन् ।

हरिवन नगरपालिकाबाट पनि साउन २६ गते ४११ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकु स्थित राष्ट्रिय प्रयोगशाला पठाईएको र उक्त रिपोर्ट नआउन्जेल हरिवन नगरपालिका क्षेत्रमा पनि समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिए नफैलिएको एकिन नहुने हुँदा प्रशासनको निषेधाज्ञालाई थप कडाई गरिएको प्रमुख प्रसाईंको हस्ताक्षरमा प्रकाशित सूचनामा उल्लेख छ ।

सूचनामा औषधी पसल बाहेकका अन्य सम्पूर्ण पसलहरु एकसाताका लागि पूर्ण रुपमा बन्द गर्ने गराउने, फलफुल तथा हरिया सागसब्जी बिक्रेताले आफू र आफ्ना ग्राहकको सुरक्षाका लागि मास्क, पञ्जा र सेनिटाईजरको प्रयोग गरी भौतिक दुरी कामय गर्दै ठेलागाढामा डुलाएर घरघरमै किनबेच गर्ने गराउने भनिएको छ ।

त्यस्तै दुग्धजन्य पदार्थ बिक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि ८ बजेसम्म दुईघण्टाका लागि मात्र खुला राख्ने र अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने र निस्कनै परे अनिवार्य मास्क लगाउन सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सूचनामा भने हरेक दिन दिउँसो २ बजेदेखि ५ बजेसम्म फलफुल तथा तरकारी एवं खाद्यान्न पसल खोल्न पाउने भनिएको छ । तर हरिवन नगरपालिकाले भने साउन २६ गते संकलन गरिएको ४११ जनाको स्वाब परीक्षण रिपोर्ट नआउञ्जेल थप कडाई गर्ने नीति अनुरुप तरकारी व्यापारीलाई गाउँ गाउँमै घुमेर व्यापार गर्न भनेको छ ।