हरिवनमा एकैदिन ४११ जनाको स्वाब संकलन

14
सोमबार हरिवन नगरपालिकाको नयाँ भवनमा स्वाब दिँदै नेकपा नेता चूडामणि वाग्ले । (तस्बिर : चूडामणि वाग्लेको फेसबुकबाट)

हरिवन – जिल्ला स्थित उत्तरी क्षेत्रका दुई स्थानीय तहले सोमबार ५३४ जनाको थ्रोट स्वाब संकलन गरेर कोरोना भाईरस (कोभिड–१९) परीक्षणका लागि पठाएका छन् ।

हरिवन नगरपालिकाले ४११ जना तथा लालबन्दी नगरपालिकाले १२३ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिको आग्रह अनुसार हाल जिल्ला स्थित स्थानीय तहहरुले धमाधम आफ्नो क्षेत्रभित्रबाट थ्रोट स्वाब संकलन गर्दै परीक्षणका लागि पठाउन थालेका छन् ।

यसै क्रममा सोमबार हरिवन नगरपालिकाले ४११ जनाको स्वाब संकलन गरेर कोरोना भाईरस परीक्षणका लागि काठमाडौं स्थित टेकु अस्पताल पठाएको छ । नगर क्षेत्र भित्रका जनप्रतिनिधि, उद्योगी, व्यापारी, सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, बैंक तथा वितिय संस्थाका कर्मचारीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि टेकु पठाईएको हरिवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख शशिकान्त सिंहले जानकारी दिए । सोमबार दिउँसोदेखि साँझ अबेरसम्म नगरपालिकाको नयाँ भवनमा स्वाब संकलन गरिएको थियो ।

त्यस्तै लालबन्दी नगरपालिका कार्यालयले पनि सोमबार थप १२३ जनाको थ्रोट स्वाब संकलन गरेको छ । आइसोलेसनमा बसिरहेका दुई जना संक्रमित सहित जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयका कर्मचारीहरुको स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाईएको नगरपालिका कार्यालयले जनाएको छ । लालबन्दीबाट गत शनिवार नै जनकपुर पठाईएको ६१ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी नै छ ।

जिल्ला स्थित अन्य विभिन्न पालिकाहरुले पनि धमाधम स्वाब संकलन गर्दै परीक्षणका लागि पठाउन थालेका छन् । केही दिनअघि बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले २० वटै स्थानीय तहलाई कम्तिमा ३–३ सय जनाको स्वाब संकलन गरी परीक्षण गर्न आग्रह गरेको थियो । कोरोना भाईरसको संक्रमण समुदाय स्तरमै फैलिएको आशंका बढेपछि समुदायसँग प्रत्यक्ष रुपमा सम्पर्कमा रहेका सरकारी कार्यालयका कर्मचारी, बैंक तथा वितिय संस्थाका कर्मचारी, जनप्रतिनिधि, उद्योगी–व्यापारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतको स्वाब परीक्षण गर्न आग्रह गरेको हो ।