सर्लाहीमा आज ४२ जना कोरोना संक्रमित थपिए, सीडीओ भन्छन् – ‘आधिकारिक जानकारी आउन ढिला भयोे’

6

मलंगवा – सर्लाहीमा आज (मंगलबार) थप ४२ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मंगलबार थप ४२ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको आधिकारिक जानकारी भर्खरै आएको बताए ।

‘दिउँसो कुनै जानकारी आएन, केहीबेर अघि फेरि ४२ जनामा पोजेटिभ देखियो भन्ने जानकारी आयो’, प्रजिअ पौडेलले उज्यालो अभियानसँग मंगलबार पौने ८ बजे राती भने, ‘तर कुन पालिका र वडाका संक्रमित थपिएका हुन् भन्ने तथ्यांक जुटाउन साथिहरु लागिरहनु भएको छ ।’ यसरी आधिकारिक जानकारी आउन ढिलाई भएको भन्दै जिम्मेवार सरकारी अधिकारीहरुको भनाईलाई आधार मानेर विभिन्न मिडियाबाट प्रवाह हुने सूचनाले आम सर्वसाधारणहरु भने अन्यौलमा पर्ने भएका छन् ।

आज (मंगलबार) दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले आज काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका ३४ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २ जनाको स्वाब टेष्ट पोजिटिभ रिपोर्ट आएको उल्लेख गरेका थिए । मन्त्रालयका प्रवक्ता गौतमको मिडिया ब्रिफिङ सकिए लगतै फोन सम्पर्क गर्दा प्रमुख जिल्ला अधिकारी पौडेल सहित जिल्ला प्रशासन कार्यालय मलंगवामा कोरोना सम्वन्धी जानकारीहरु स्वास्थ्य मन्त्रालयबाट आएको नियमित हेर्ने र गृह मन्त्रालयमा यहाँको विवरण पठाउने प्रशासकीय अधिकृत रामप्रमोद यादवले आज (मंगलबार) कत्तैको पनि रिपोर्ट नआएको बताएका थिए । त्यस्तै स्वास्थ्य कार्यालय मलंगवाका कोभिड फोकल पर्सन सुशील झाले पनि जिल्लामा संक्रमित थपिएको आधिकारिक जानकारी कुनै ल्याबबाट नआएको बताएका थिए ।

जिल्लाका विभिन्न पालिकाले पछिल्लो समय तीव्र रुपमा संकलन गरेर पठाएको थ्रोट स्वाबको रिपोर्ट आउन बाँकी छ । लालबन्दीबाट गत शनिवार नै ६१ जनाको थ्रोट स्वाब संकलन गरेर जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पठाएको भएपनि अझै रिपोर्ट आएको छैन् । जनकपुर ल्याबमा आज कुरा गर्दा भोलीसम्म यहाँको परीक्षण गराउने पालो आउने जानकारी गराएको नगर प्रमुख मानबहादुर खड्काले बताए । यस्तै हिजो (सोमबार) लालबन्दीबाटै हेटौंडास्थित बाग्मती प्रदेश सरकारले सञ्चालन गरेको ल्याबमा पठाइएको थप १२३ जनाको रिपोर्ट पनि भोली (बुधबार) नै आउने पक्कापक्की भएको मेयर खड्काले जानकारी दिए । १२३ मध्ये नवलपुर आइसोलेसनमा बसिरहेका दुई जनाको भने दोस्रो पटक पठाइएको स्वाबको परीक्षण रिपोर्ट आजै रातीसम्म आउन सक्ने मेयर खड्काले बताएका छन् ।

हरिवन नगरपालिकाले हिजो (सोमबार) एकैदिन संकलन गरेर पठाएको ४११ जनाको स्वाब आज (मंगलबार) बिहान ९ बजेतिर केन्द्रीय ल्याब टेकुमा पुगेको छ । त्यसको रिपोर्ट आउन अझै एक/दुई दिन लाग्ने हरिवन नगरपालिकाका उपप्रमुख रेणुका पौडेलले जानकारी दिईन् । लालबन्दी, हरिवनसँगै जिल्लाको दक्षिणी भेगका केही पालिकाहरुले पठाएको स्वाबको रिपोर्ट पनि आउन बाँकी रहेको छ ।

हरिवन, लालबन्दी लगायत स्थानबाट संकलन गरिएको स्वाबको रिपोर्ट नआएको सम्बन्धित पालिकाका पदाधिकारीहरुको भनाईलाई मान्ने हो भने आज (मंगलबार) देखिएका ४२ जना संक्रमित दक्षिणी क्षेत्रकै विभिन्न पालिकाका हुन सक्ने अनुमान गरिएको छ । यद्यपी राती अबेरसम्म भएपनि संक्रमितको ठेगाना पत्ता लगाउने कार्य जारी रहने प्रजिअ पौडेलले जानकारी दिए ।

आज मंगलबार पछिल्लो समय आएको विवरण सहित सर्लाहीमा कोरोना संक्रमितको कुल संख्या ८६८ पुगेको छ । तीमध्ये ७१७ जना निको भएर घर फर्कीसकेको र १०० जना संक्रमित सर्लाहीकै विभिन्न आईसोलेसनमा उपचाररत छन् भने ८ जना काठमाडौं, वीरगंज, जनकपुर लगायत विभिन्न स्थानमा आईसोलेसनमै बसेको प्रशासकीय अधिकृत यादवले जानकारी दिए । अब आज (मंगलबार) थपिएका संक्रमितहरुको पहिचान गरी आईसोलेसनमा पठाउन तयारी भईरहेको बताईएको छ । एकजना कोरोना संक्रमित वृद्धाको भने मृत्यु भईसकेको छ ।