लालबन्दीको चन्द्रपुरबाट २० किलो गाँजासहित दुई जना पक्राउ

गत वर्ष नारायणखोलामा गाँजा फडाँनी गर्दै तत्कालिन प्रजिअ मोहनबहादुर जिसी सहित सुरक्षाअधिकारीहरु । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरबाट २० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–२, का ५० वर्षीय सुरेश पासवान र लालबन्दी नगरपालिका–८, का २८ वर्षीय रवीन्द्र लामा रहेका छन् । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक नारायण थापाको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले गएराती साँढे १० बजेतिर चन्द्रपुरस्थित चौरबाट पासवान र लामालाई गाँजासहित पक्राउ गरेको हो ।

बोराभित्र गम्छाले बाँधेर गाँजा लिएर हिँड्दै गर्दा पक्राउ परेका दुवैलाई लालबन्दी प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । लालबन्दी प्रहरीले नवलपुरस्थित लखन्देही खोला क्षेत्र, पत्थरकोट, जियाजोर, नारायणखोला लगायतका ठाउँहरुबाट पटक–पटक प्रतिवन्धित लागूऔषध गाँजा बरामद गरिरहेको छ ।

अहिलेसम्म कानुनी रुपमा प्रतिवन्ध नै भएपनि यसै नगरपालिकाको विकट क्षेत्रमा पर्ने वडा नं. १४, नारायणखोलामा किनबेच गर्ने हिसाबले गाँजाको खेती हुने गरेको छ । गत वर्ष प्रहरीले त्यस क्षेत्रमा गाँजा फडानी गर्ने अभियान नै चलाएको थियो ।

यसअघिका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, अहिलेका प्रहरी प्रमुख (एसपी) विश्वमणि पोखरेल, सशस्त्र प्रहरीका प्रमुख (एसपी) विनोदराज श्रेष्ठ आफै गाँजाको हरियाँ बोट फडानी गर्न नारायणखोला पुग्नु पुगेका थिए ।