निषेधाज्ञापछि तरकारी बजार बन्द, किसानबाट तरकारी खरिद गर्न व्यापारी आफै गाउँ पसे

मंगलवार अपरान्ह सुनसान देखिएको लालबन्दीस्थित थोक तरकारी बजार । तस्बिर : उज्यालो अभियान

लालबन्दी – बजारमा भीडभाड गर्न रोक लगाइएपछि व्यापारीहरुले सर्लाहीका किसानको घरगाउँमै पुगेर तरकारी खरिद गर्न थालेका छन् ।

सोमवारदेखि जिल्लाभर निषेधाज्ञा जारी भएसँगै तरकारी बजारमा भीडभाड गर्न रोक लगाइएको छ । सोही कारण व्यापारीहरु तरकारी खरिद गर्न गाउँघरमै पुग्न थालेका हुन् । अचानक तरकारी बजार बन्द हुँदा निराश भएका किसानले यसरी व्यापारी गाउँमै जान थालेपछि राहत महसुश गरेका छन् ।

किसानबाट तरकारी उठाउन १०/१२ वटा गाडी गाउँ पस्ने गरेको लालबन्दी थोक तरकारी बजारका एक व्यापारीले बताए । बजारमा एकैपटक सबै किसानले तरकारी ल्याउँदा भीडभाड हुने भएपछि व्यापारी आफै गाउँ पस्न थालेका हुन् । लालबन्दीको थोक तरकारी बजारबाटै पनि केही व्यापारीले भीडभाड नगरी किसानबाट तरकारी खरिद गरेर अन्यत्र पठाइ रहेका छन् ।

छेउछाउका एक÷दुई जना किसानले पालैपालो जसो ल्याएको तरकारी खरिद गरिरहेको व्यापारीहरुको भनाई छ । निषेधाज्ञा, उत्पादनमा वृद्धि र भारतबाट तरकारी भित्रिँदा यहाँ उत्पादन भएको तरकारीको मूल्य भने तीन÷चार दिनमै आधाले घटिसकेको छ ।

केही दिनअघिसम्म प्रतिकिलो सय रुपैयाँसम्ममा बिक्री भएको परवल अहिले ५५ देखि ६० रुपैयाँ र बोडी ६० देखि ७० रुपैयाँमा झरेको छ । ७५ देखि ८० रुपैयाँसम्मको भिण्डी ३० रुपैयाँमा थोक बिक्री भइरहेको छ । यसैगरी झिङ्नी २० देखि २५ रुपैयाँ, पाकेको काक्रो १० रुपैयाँ हरियो काक्रो ८ देखि १० रुपैयाँ घिरौला १५ रुपैयाँ र लौका प्रतिगोटा ४० देखि ४५ रुपैयाँमा बिक्री भइरहेको छ । मेहनत र लगानी खर्चेर फलाएको तरकारी बेच्न कहिलेकाँही प्रहरीको धरपकड सहनु परेको किसानले गुनासो गरेका छन् ।