कोरोना कहर : श्रीकृष्ण जन्माष्टमीका दिन सर्लाहीका कृष्ण मन्दिर सुनसान

1
हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन भक्तजनहरुको अत्यन्त भिडभाड हुने भएपनि मंगलबार दिउँसो सुनसान देखिएको हरिवन चोकस्थित श्री कृष्ण मन्दिर परिसर । (तस्बिर : उज्यालो अभियान)

हरिवन – हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन भक्तजनहरुको घुईंचो लाग्ने कृष्ण मन्दिरहरु यसवर्ष सुनसान बनेका छन् ।

यसवर्ष आजै मंगलबार श्रीकृष्ण जन्माष्टमी पर्व भएपनि जिल्ला स्थित कृष्ण मन्दिरहरुमा छिटफुट बाहेक भक्तजनहरु पूजाआजा गर्न गएनन् । हरिवन, लालबन्दी, बागमती, ईश्वरपुर, हरिपुर लगायत जिल्लाका विभिन्न स्थानमा रहेको कृष्ण मन्दिरमा विगत वर्षहरुको कृष्ण जन्माष्टमीका दिन बिहानैदेखि पूजाआजा गर्न भक्तजनहरुको भिड लाग्दथ्यो । विशेषगरी महिला भक्तजनहरु बिहानै नुहाईधुवाई गरी कृष्ण मन्दिर पुगेर पूजाआजा गर्ने अनि दिनभर मन्दिर आसपास नाँचगाँन गरेर कृष्ण जन्माष्टमी पर्व मनाउने गर्दथे । कतिपय महिलाहरु त बागमती नदीमा स्नान गरेर फर्किने र कृष्ण मन्दिरमा पूजाआजा समेत गर्दथे ।

तर यसवर्ष भने कोरोना भाईरसको संक्रमणबाट समुदायलाई बचाउँन भन्दै जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि लागू हुनेगरी ७ दिनका लागि हिडडुल गर्नै नपाउने गरी निषेधाज्ञा जारी गरेकाले भगवान श्रीकृष्णका भक्तजनहरुको भिडभाड नभएपछि कृष्ण मन्दिरहरु सुनसान बनेका हुन् ।

सदरमुकाम मलंगवामा स्थित मुल्ही पोखरीमा हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन स्थानीयले पोखरीको बीचमा मण्डप बनाएर पूजाआजा गर्ने तथा मेला नै लगाउने गर्दथे । केही दिनअघि नै पोखरीको जलकुम्भी सफा गरेर बीचमा मण्डप बनाईन्थ्यो । तर यसवर्ष भने पोखरीको छेउमै सामान्य मण्डप बनाएर पूजाआजा गर्ने व्यवस्था मिलाईएको स्थानीयले बताएका छन् । तथापी गतविगत वर्षजस्तो भिडभाड छैन ।