आज सर्लाहीमा कोरोना पोजेटिभको कुनैपनि रिपोर्ट आएको आधिकारिक जानकारी छैन : जिल्ला प्रशासन कार्यालय

15

मलंगवा – सर्लाहीबाट संकलन गरेर पठाइएको थ्रोट स्वाबको आज (मंगलबार) कुनै पनि प्रयोगशालाबाट आधिकारिक रुपमा परीक्षण रिपोर्ट प्राप्त नभएको जिल्ला प्रशासन र स्वास्थ्य कार्यालयले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यहाँबाट विभिन्न पालिकाले स्वाब संकलन गरी परीक्षणका लागि पठाएका भएपनि आज साँझसम्म कुनै पनि ठाउँको रिपोर्ट प्राप्त नभएको बताए । स्वास्थ्य मन्त्रालयले नियमित गर्ने मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले आज काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका ३४ जना र सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २ जनाको स्वाब टेष्ट गराउँदा पोजिटिभ रिपोर्ट आएको उल्लेख गरेका थिए । सर्लाहीको कुन पालिका भने खुलाइएको छैन् ।

प्रमुख जिल्ला अधिकारी पौडेलले मन्त्रालयले मिडिया ब्रिफिङमा सर्लाहीका ३६ जना नयाँ संक्रमित थपिएको उल्लेख गरेपनि आफूहरुलाई आधिकारिक जानकारी नआएको बताए । जिल्ला प्रशासन कार्यालय मलंगवामा कोरोना सम्वन्धी जानकारीहरु स्वास्थ्य मन्त्रालयबाट आएको नियमित हेर्ने र गृह मन्त्रालयमा यहाँको विवरण पठाउने प्रशासकीय अधिकृत रामप्रमोद यादवले आज कत्तैको पनि रिपोर्ट नआएको बताए । स्वास्थ्य कार्यालय मलंगवाका कोभिड फोकल पर्सन सुशील झाले पनि जिल्लामा संक्रमित थपिएको जानकारी कुनै ल्याबबाट नआएको बताए ।

जिल्लाका विभिन्न पालिकाले पछिल्लो समय तीव्र रुपमा संकलन गरेर पठाएको थ्रोट स्वाबको रिपोर्ट आउन बाँकी छ । लालबन्दीबाट गत शनिवार नै ६१ जनाको थ्रोट स्वाब संकलन गरेर जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पठाएको भएपनि अझै रिपोर्ट आएको छैन् । जनकपुर ल्याबमा आज कुरा गर्दा भोलीसम्म यहाँको परीक्षण गराउने पालो आउने जानकारी गराएको नगर प्रमुख मानबहादुर खड्काले बताए । यस्तै हिजो (सोमबार) लालबन्दीबाटै हेटौंडास्थित बाग्मती प्रदेश सरकारले सञ्चालन गरेको ल्याबमा पठाइएको थप १२३ जनाको रिपोर्ट पनि भोली (बुधबार) नै आउने पक्कापक्की भएको मेयर खड्काले जानकारी दिए । १२३ मध्ये नवलपुर आइसोलेसनमा बसिरहेका दुई जनाको भने दोस्रो पटक पठाइएको स्वाबको परीक्षण रिपोर्ट आजै रातीसम्म आउन सक्ने मेयर खड्काले बताएका छन् ।

हरिवन नगरपालिकाले हिजो (सोमबार) एकैदिन संकलन गरेर पठाएको ४११ जनाको स्वाब आज (मंगलबार) बिहान ९ बजेतिर केन्द्रीय ल्याब टेकुमा पुगेको छ । त्यसको रिपोर्ट आउन अझै एक/दुई दिन लाग्ने हरिवन नगरपालिकाका उपप्रमुख रेणुका पौडेलले जानकारी दिईन् । लालबन्दी, हरिवनसँगै जिल्लाको दक्षिणी भेगका केही पालिकाहरुले पठाएको स्वाबको रिपोर्ट पनि आउन बाँकी रहेको छ ।

हिजो (सोमबार) सम्मको विवरण अनुसार सर्लाहीमा कोरोना संक्रमितको कुल संख्या ८२६ रहेको छ । तीमध्ये ७१७ जना निको भएर घर फर्कीसकेको र १०० जना संक्रमित सर्लाहीकै विभिन्न आईसोलेसनमा उपचाररत छन् भने ८ जना काठमाडौं, वीरगंज, जनकपुर लगायत विभिन्न स्थानमा आईसोलेसनमै बसेको प्रशासकीय अधिकृत यादवले जानकारी दिए । त्यस्तै कोरोना संक्रमित एकजना वृद्धाको भने मृत्यु भईसकेको छ ।