सर्लाहीमा निषेधाज्ञा उल्लंघन गर्ने दर्जनौं मोटरसाईकल नियन्त्रण

24
हरिवन बजारमा निषेधाज्ञा उल्लंघन गर्दै राजमार्गमा गुडेका मोटरसाईकल लगायत सवारीसाधन नियन्त्रणमा लिदैं गरेका प्रहरी र ट्राफिक प्रहरी । (फाईल तस्बिर)

हरिवन – स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दै राजमार्गमा निर्धक्क चलाईएका मोटरसाईकलहरु प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको छ ।

अत्यावश्यक काम बाहेक राजमार्गमा गुड्ने मोटरसाईकल सहित सार्वजनिक तथा निजी सवारी साधनलाई सोमबार बिहानैदेखि जिल्ला स्थित सबै स्थानका प्रहरी र ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुवँरले जानकारी दिए । आज निषेधाज्ञाको पहिलो दिन नियन्त्रणमा परेका सवारी साधनलाई केही घण्टा ‘होल्ड’ गरेर आईन्दा नचलाउने शर्तमा छाडिने र अर्को पटक पक्राउ परे कानून बमोजिम कार्बाही गर्ने रणनीति प्रहरीले लिएको छ ।

कोरोना कहर : सर्लाहीमा निषेधाज्ञा

कोरोना भाईरसका संक्रमित बढ्दै गएपछि समुदायलाई संक्रमणबाट बचाउन भन्दै सर्लाहीमा स्थानीय प्रशासनले आज (सोमबार) बिहान ६ बजेबाट ७ दिनसम्म अर्थात साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । गत बुधबारबाट ७ दिनका लागि हाटबजारलाई कडाई गर्दै आदेश जारी गरेको स्थानीय प्रशासनले सोमबारबाट भने सबैखाले सरकारी एवं गैरसरकारी कार्यालय, औषधी पसल लगायत अत्यावश्यक बाहेक सम्पूर्ण पसलहरु समेत बन्द गर्ने र अत्यावश्यक काम बाहेक सर्बसाधारणलाई घर बाहिरै निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो ।