कोरोना कहर : सर्लाहीमा भोलीदेखि निषेधाज्ञा

जनार्जन खत्री/लालबन्दी – सर्लाहीमा स्थानीय प्रशासनले भोलि (सोमबार) बिहानबाट ७ दिनसम्म निषेधाज्ञा जारी गरेको छ । गत बुधबारबाट ७ दिनका लागि हाटबजारलाई कडाई गर्दै आदेश जारी गरेको स्थानीय प्रशासनले आईतबार भने सबैखाले सरकारी एवं गैरसरकारी कार्यालय, औषधी पसल लगायत अत्यावश्यक बाहेक सम्पूर्ण पसलहरु समेत बन्द गर्ने र अत्यावश्यक काम बाहेक सर्बसाधारणलाई घर बाहिरै निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को आइतवार दिउँसो सदरमुकाम मलंगवामा बसेको बैठकले निषाधाज्ञा नै जारी गर्न सिफारिस गरेपछि आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन, २०२० बमोजिम साउन २६ गते सोमबार बिहान ६ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

परीक्षणको दायरा बढाइएसँगै मलंगवा, बरहथवा, ईश्वरपुर, लालबन्दी लगायतका स्थानमा जनप्रतिनिधि, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी र वित्तीय संस्थामा कार्यरत कर्मचारीमा संक्रमण पाइएकाले समुदाय स्तरमै संक्रमण फैलिसकेको सीसीएमसी को बैठकले ठहर गरेको छ । यसै सन्दर्भलाई दृष्टिगट गर्दै कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा थप हुन नदिन निषेधाज्ञा नै जारी गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रजिअ पौडेलका अनुसार भोली सोमबारबाट अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ । खाद्यान्न र तरकारी पसलका सन्दर्भमा प्रत्येक दिन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खुला राखी भौतिक दूरी कायम गराई खरिद बिक्री गर्ने, स्वास्थ्य, विद्युत्, दुरसंचार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपंक्षीको दाना र कृषि कार्य बाहेकका अन्य बैंक तथा वित्तीय संस्था र कार्यालयहरुबाट प्रदान गरिने सेवा पनि तत्कालका लागि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

आईतबार बसेको बैठकले अबदेखि आरडीटी टेष्टमा पूर्ण रुपमा रोक लगाउने, क्वारेन्टिनमा बसेका व्यक्तिहरुको ५ देखि ७ दिन पूरा भएपश्चात अनिवार्य रुपमा पीसीआर टेष्ट गराउने निर्णय गरेको प्रजिअ पौडेलले बताए । त्यसैगरी भारतबाट जिल्ला प्रवेश गर्न खोज्ने व्यक्तिहरुलाई कडाईका साथ नियमन गर्ने, प्रवेश गरिसकेकाहरुलाई क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण पश्चात नेगेटिभ रिपोर्ट आएपछि मात्रै गन्तव्यमा पठाउने र सीमाबाट प्रवेश गरेकाहरुको सङ्ख्या विष्लेषणको आधारमा आवश्यक थप क्वारेन्टिनको व्यवस्था गर्न मलंगवा नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

सर्लाहीमा कोरोना संक्रमणबाट सर्लाहीका दुईजनाको मृत्यु भईसकेको हल्ला चलेपनि आधिकारिक रुपमा एकजनाको मात्र मृत्यु भएको जानकारी आएको प्रजिअ पौडेलले जानकारी दिए । ‘एकजनाको भारतमा मृत्यु भएको भन्ने खबर चाँही सुनेका छौं तर आधिकारिक जानकारी नआएकाले दुई जनाको मृत्यु भन्न मिलेन’, प्रजिअ पौडेलले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार गरेको पत्रकार सम्मेलनमा गराएको जानकारी अनुसार ४ जना थपिएसँगै सर्लाहीमा ८१४ जनामा संक्रमित पुगिसकेका छन् ।

यस्तो छ जिल्ला प्रशासन कार्यालयले आईतबार जारी गरेको निषेधाज्ञा आदेश