लखन्देही खोलामा मोटरसाईकल बोक्न टायरगाढाको हारालुछ !

मोटरसाईकल र त्यसमा सबार यात्रु बोकेर लखन्देही खोला तर्दै गरेको टायरगाढा । (तस्बिर : उज्यालो अभियान)

हरिवन – वर्षायाम लागेसँगै हरिवन–कौडेना सडकखण्ड अन्तर्गत लखन्देही खोलामा पानीको बहाब बढेको छ । पानीको बहाब बढेसँग उक्त सडकखण्डमा गुड्ने मोटरसाईकल, साईकल र पैदल यात्रु लखन्देही खोलाको दुवै किनारामा घण्टौं रोकिनु परिरहेको छ ।

यही मौकामा स्थानीय केही युवाले भने टायरगाढामा मोटरसाईकलयात्रुलाई खोला तारिदिने ‘धन्दा’ सूरु गरेका छन् । जानकिनगरबाट केही दक्षिण पूर्व तथा पिडारीबाट पश्चिम किनारमा रोकिएका मोटरसाईकल तथा मोटरसाईकलमा यात्रा गरिरहेका सर्वसाधारणलाई टायरगाढामा चढाएर खोला तारिदिए बापत एउटा मोटरसाईकलको ५० रुपैंया लिने गरेको स्थानीयले बताएका छन् । केही समययता मोटरसाईकल र मान्छे तार्नका लागि आधा दर्जन बढी टायरगाढा लखन्देही खोला किनारमा लामबद्ध देखिन्छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनबाट दक्षिणी कौडेना गाउँपालिका जोड्ने उक्त सडकखण्डमा भारतीय सीमावर्ती गाउँ विष्णु गाउँपालिकादेखिका सर्वसाधारण सोझै हरिवनसम्म आउनका लागि यात्रा गर्ने गर्दछन् । सडकखण्ड कालोपत्रे भएपनि लखन्देही खोलामा पुल नहुँदा हरेक वर्षायाममा मोटरसाईकल, साईकल र पैदल यात्रुले सास्ती भोग्नु परिरहेको छ ।

केही वर्षअघि सम्म दक्षिण फुलपरासीमा पनि पक्की पुल नहुँदा पश्चिम बलरादेखि सदरमुकाम मलंगवा ओहोरदोहोर गर्ने मोटरसाईकल, साईकल र पैदल यात्रु यसैगरी स्थानीय युवालाई तीनसय रुपैंयासम्म तिरेर लखन्देही खोला तर्न बाध्य थिए । केहीवर्ष अघि लखन्देही खोलामा पक्की पुल बनेपछि त्यस क्षेत्रका सर्बसाधारण पैसा तिर्नुपर्ने बाध्यबाट मुक्त भएका छन् ।