सर्लाहीमा कोरोना संक्रमित बढ्दै, आज ३३ जना थपिए

मलंगवा – सर्लाहीमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेको छ । पालिकाहरुले आ–आफ्नो स्थानमा परीक्षण दायरा बढाएसँगै परीक्षणको संख्या थपिदै गइरहेको हो ।

आज शनिवार मात्रै जिल्लामा ३३ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये १५ जना खानेपानी डिभिजन कार्यालय मलंगवाका कर्मचारी छन् । यस्तै सदरमुकाम मलंगवास्थित कभर्ड हलमा गएर स्वाब दिएका १६ जनाको पनि पोजिटिभ रिपोर्ट आएको छ । उनीहरुले रणशेर गण नवलपुर भनेर ठेगाना उल्लेख गरेपनि नेपाली सेनाले आफ्ना सैनिक नभएको बताएको छ । उनीहरुको ठाउँ पहिचान गराउने प्रयास भइरहेको जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।

यसैगरी लालबन्दी ठेगाना उल्लेख गरिएका एक जना र वीरगञ्जमा गएर थ्रोट स्वाब दिएका सर्लाहीकै अर्का एक व्यक्तिको पनि थ्रोट स्वाब रिपोर्ट पोजिटिभ आएको छ । समुदाय स्तरका व्यक्तिहरुको नमूनाका रुपमा स्वाब लिएर परीक्षण गराउन थालेपछि सर्लाहीमा कोरोना संक्रमित बढ्दै गइरहेका छन् । शनिवार थपिएका ३३ जना समेत गरी जिल्लामा कोरोना संक्रमितको सख्या ८०५ पुगेको छ ।