लालबन्दीमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सङ्क्रमितको परिवारका सदस्यसहित ६१ जनाको थ्रोट स्वाब संकलन

5
लालबन्दी नगरपालिका कार्यालय । तस्बिर : उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीका कोरोना सङ्क्रमितहरुको परिवारका सदस्य, जनप्रतिनिधि र स्वास्थ्यकर्मी गरी शनिवार ६१ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ ।

हेटौंडास्थित प्रयोगशालामा थ्रोट स्वाब परीक्षण गराउँदा सुक्रवार लालबन्दी नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठ, प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा कार्यरत एक जना कर्मचारी र लालबन्दी नगरपालिका–७, निवासी एक महिलामा कोरोना भाइरसको सङ्क्रमण पाइएको थियो । उनीहरु तीनै जनाको परिवारका सदस्य, भरतपुर पुगेर थ्रोट स्वाब दिँदा पोजिटिभ रिपोर्ट आएको लालबन्दी नगरपालिका–२, का एक वृद्धको परिवारका सदस्य, प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी तथा कर्मचारी र अघिल्लो पटक थ्रोट स्वाब सङ्कलन गर्दा छुटेका जनप्रतिनिधिहरुको स्वाब लिइएको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सूर्यनारायण चौधरीले जानकारी दिए ।

सङ्कलित स्वाब परीक्षणका लागि आजै जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा पठाइएको स्वास्थ्य संयोजक चौधरीले बताए । नगरपालिकाले कोरोना सङ्क्रमणकै बीच विभिन्न क्षेत्रमा अग्रभागमा रहेर खटिएका व्यक्तिहरुको भोली आइतवार पनि स्वाब लिइने जनाएको छ ।

नगर प्रमुख मानबहादुर खड्काले समुदाय स्तरमै सङ्क्रमण पाइएपछि सतर्कता बढाइएको बताए । तर नागरिक स्तरबाट भने लापरवाही भइनै रहेको छ । बजार क्षेत्र तथा संक्रमित भेटिएका ठाउँका नागरिक समेत मास्क समेत प्रयोग नगरी जथाभावी हिँड्डुल गरिरहेका छन् ।

नगर प्रमुख खड्काले सङ्क्रमण फैलन नदिन औषधि पसल बाहेक लालबन्दी बजारका सबै पसल व्यवसाय, नगरपालिका, वडा कार्यालयहरु, बैङ्क तथा वित्तीय संस्थाहरु बन्द गरिएको जानकारी दिए । कर्मचारीमा सङ्क्रमण पाइएपछि प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीको सेवा पनि अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले सूचना निकालेर जानकारी गराएको छ ।

सम्पूर्ण बजार बन्द गर्ने निर्णय हुँदा समेत शनिवार बिहान थोक तरकारी बजारमा भीडभाड देखिएको थियो । तरकारी बेच्न आएका किसानलाई भोलीबाट केही समय तरकारी नल्याउन प्रहरीले आग्रह गरेर आज पहिलो दिन घर पठाएको छ । अत्यावश्यक काम परेर हिँड्दा मास्क नलगाउने र अटेरी गर्नेलाई लालबन्दी प्रहरीले विगत तीन दिनदेखि सय रुपैयाँका दरले जरिवाना तिराएर मात्रै छाडिरहेको छ ।